कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको बुधबार ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा शाखाका सभापति ईश्वर पण्डितको सभाध्यक्ष र केन्द्रीय सदस्य तथा संघका निवर्तमान सभापति निगम श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा निवर्तमान सभापति श्रेष्ठले संघको स्थापना कालदेखि हालसम्मको अवस्था बारेमा जानकारी दिनुभएको थियो । उहाँले आगामी दिनहरुमा विकट ठाउँमा गएर स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

आगामी दिनमा संघले युवाहरुसँग प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने भएको छ । यस्तै, परिवार नियोजन, महिला हिंसा र पाठेघरको स्क्रिनिङ सम्बन्धी कार्यक्रम गर्ने योजना रहेको संघकी व्यवस्थापक ममिता कुशवाहले बताउनुभयो ।