प्रतियोगिता सुरु गर्नुअघि टस गर्दै अम्पायर, काठमाडौं र मकवानपुरका कप्तान ।

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा आज मंगलबार मकवानपुरले काठमाडौंसँग खेलिरहेको छ । सेमीफाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले मकवानपुरलाई २ सय ३२ रनको लक्ष्य दिएको छ ।

काठमाडौंस्थित मूलपानी रंगशालामा जारी खेलको पहिलो इनिङ्स सकिएको छ । काठमाडौंले ४७ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय ३१ रन जोड्न सफल भएको छ । काठमाडौंका लागि सोनु देवकोटा र पृथु बास्कोटाले अर्धशतक पूरा गरे । केहीबेरमा मकवानपुरले जवाफी व्याटिङ सुरु गर्नेछ । मकवानपुर समूह चरणमा अपराजित रहँदै सेमीफाइनल प्रवेश गरेको हो । यसअघि हिजो भएको खेलमा ललितपुरले चितवनलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।