हेटौंडाः शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविमा स्थापना गरिएको नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम सञ्चालन गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नवोदयले कार्यक्रमबारे जानकारी गराएको हो ।

तालिम कार्यक्रमका प्रमुख नरेन्द्र नगरकोटीले शैक्षिक रुपान्तरणका लागि लामो समयदेखि निरन्तर शिक्षण सिकाइ र शैक्षिक कर्ममा तल्लिन व्यक्तिहरु सम्मिलित सक्रिय समूहको नेतृत्व र व्यवस्थापनमा नवोदय इनोभेसन सेन्टर स्थापना भई कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो । समयको मागबमोजिम तालिम प्राप्त, प्रभावशाली र शिक्षण कौशलयुक्त शिक्षकको आवश्यकता परिपूर्तिका लागि हेटौंडामा एक वर्षे शिक्षक तालिम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । आधारभूत तहका लागि सक्षम शिक्षक तयार पार्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको हो । तालिमपश्चात् कक्षा ४ देखि ७ सम्म बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार हुने उहाँले बताउनुभयो ।

कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई सफल शिक्षक बन्न तालिमले मद्दत पुग्ने उहाँको विश्वास छ । तालिममा एक चरणमा २४ जनालाई सहभागी गराउने उहाँले बताउनुभयो । अनलाइनबाट आवेदन दिएका इच्छुकहरुलाई तालिमका लागि छनौट गरिने जनाइएको छ । तालिममा सहभागीहरुले मासिक ५ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । तालिम बिहान र दिउँसो दुई चरणमा सञ्चालन हुनेछ । एक दिनमा ३ घण्टा तालिम सञ्चालन हुने बताइएको छ ।

तालिममा शिक्षा दर्शन, प्रगतिशील शिक्षा, भाषा, साहित्य, विज्ञान, सामाजिक अध्ययन, गणित, शारीरिक, संगीत तथा कलाका विषय समावेश गरिनेछ । बालबालिकाको समग्र विकासका लागि ४८–४८ घण्टाको विषयवस्तु राखिएको बताइएको छ । यस्तै, नृत्य शिक्षण ३६, सिकाई उपलब्धी र बालबालिकामा ४ सीको विकासका लागि १२ घण्टा पाठ्यक्रम राखिएको छ । तालिम आगामी साउन १६ गतेबाट सुरु हुने जनाइएको छ । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, कार्यक्रमका निर्देशक अव्यक्त खनाल, कार्यक्रम संयोजक रमिता दर्लामी, नवोदय शिशु सदन सञ्चालक समितिका अध्यक्ष पुरनबहादुर जोशी, हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामालगायतको आतिथ्य रहेको थियो ।