हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–३, समिखोलामा बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ ६ बजेर ३० मिनेटको समयमा रोशी खोलाको बीच टापुमा अन्दाजी ८ वर्षीय बालक मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । खोलाले बगाई ल्याएको जस्तो देखिन शव सडेको अवस्थामा फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, झिर्पुमा निर्माणाधीन भोटेकोशी जलविद्युत आयोजनाको ढलान खसेर पुरिँदा दुई जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ का ३० वर्षीय रामजिन थारु र ठाकुरबाबा नगरपालिका–५ का ३० वर्षीय सुमन थारु रहेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो २ बजेको समयमा ढलान खस्दा १० जना घाइते भएका थिए भने २ जना बेपत्ता भएका थिए । घाइते ७ जनाको बाह्रविसे किस्टोन अस्पतालमा उपचार भइरहेको र ३ जनालाई सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका रामजिन र सुमन शनिबार बिहान ३ बजेर ३० मिनेटको समयमा मृत अवस्थामा फेला परेका थिए ।