हेटौंडा: भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न विधाका ११ जनालाई सम्मान गरेको छ । शनिबार हेटौंडामा एक समारोहका बीच प्रतिष्ठानले विभिन्न विधाका ११ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।
भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भएको हो । भीम विराग राष्ट्रिय साहित्य पुरस्कार–२०८१ काठमाडौंकी माया ठकुरीलाई प्रदान गरिएको छ । भीम विराग राष्ट्रिय संगीत पुरस्कार–२०८१ बाट रुपन्देहीका गायक हेमन्त शर्मा र भीम विराग राष्ट्रिय कला पुरस्कार–२०८१ बाट मकवानपुरका कलाकार भोलाराज सापकोटा सम्मानित हुनुभएको हो । भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट काठमाडौंका पत्रकार/साहित्यकार ठाकुर बेल्वासेलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
यस्तै, तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार–२०८१ बाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी पुरस्कार–२०८१ बाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार–२०८१ बाट मकवानपुरका साहित्यकार/बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई १५ हजार रूपैयाँ नगद राशिसहित सम्मान गरिएको छ । भीम–मथुरा बाल प्रतिभा पुरस्कार–२०८१ बाट मकवानपुरकी मेधावी विद्यार्थी रितिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार–२०८१ बाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार–२०८१ बाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार–२०८१ बाट पर्वतका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई २० हजार राशिसहित सम्मान गरिएको छ ।
पुरस्कार वितरण समारोहमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देललगायतको आतिथ्य रहेको थियो ।