हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को थानाभर्याङमा ओभरहेड ट्याङ्की निर्माण शिलान्यास गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठले ओभरहेड ट्याङ्की शिलान्यास गर्नुभएको हो ।
थानाभर्याङ र सिमलटारका स्थानीयलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण शिलान्यास गरिएको हो । लामो समयदेखि ट्युबवेलको पानी प्रयोग गर्दै आएका स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यअनुसार सो ट्याङ्की निर्माण थालिएको हो । ओभरहेड ट्याङ्की निर्माण थालेसँगै सो क्षेत्रका स्थानीले धाराको पानी प्रयोग गर्न पाउने भएका छन् ।
सिमलटार थानाभर्याङ खानेपानी योजनाअन्तर्गत ओभरहेट ट्याङ्की निर्माण गर्न लागिएको हो । खानेपानी योजनाका लागि २ वटा समवेल निर्माणको काम पनि चलिरहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयको २ करोड ५० लाख, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १ करोड १२ लाख र हेटौंडा उपमहानगरपालिकाको १ करोड रुपैयाँ लगानीमा खानेपानी योजना निर्माण हुन लागेको हो ।
ओभरहेड ट्याङ्की आउँदो बैशाखभित्र निर्माण सम्पन्न हुने जानकारी दिँदै योजना सम्पन्न भएपछि यस क्षेत्रका करिब ३ हजार घरधुरीले ट्युबवेलको पानी प्रयोग गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउने बोर्डका अध्यक्ष विष्टले बताउनुभयो । आर्थिक अवस्था राम्रो भएकाहरुले जारको पानी पिउने गरेको भए पनि न्यून आर्थिक अवस्था भएका स्थानीयले ट्युबवेलको पानी पिउन बाध्य हुने गरेको उहाँको भनाइ छ ।
ओभरहेट ट्याङ्की निर्माण चलिरहेको अवस्थामा पनि २ वटा समवेल निर्माण सम्पन्न भएपछि स्थानीयलाई डाइरेक्ट धाराबाट पानी वितरण गर्ने योजना रहेको अध्यक्ष विष्टले बताउनुभयो । त्यसका लागि स्थानीयले एकदुई महिनामात्रै कुर्नुपर्ने अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
ओभरहेट ट्याङ्की शिलान्यास गर्दै मन्त्री श्रेष्ठले खानेपानी योजना सम्पन्न भएपछि हेटौंडा बजार नजिकै भएर पनि लामो समयसम्म ट्युबवेलको पानी पिउन बाध्य सिमलटार र थानाभर्याङका स्थानीयको समस्या समाधान हुने बताउनुभयो । उहाँले जनताको सरोकारका विषयलाई प्राथमिकता दिने उल्लेख गर्दै जनतासँगको सहलगानीमा आफूले काम गर्न चाहेको दावी गर्नुभयो ।
खानेपानी योजना निर्माण सम्पन्न भएपछि खानेपानी उपाभोक्ता समितिलाई बोर्डमा गाभेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो । हेटौंडामा खानेपानी व्यवस्थापन बोर्डकै कारण विगतका समयमा देखिएको खानेपानीको समस्या समाधान हुँदै गएको मन्त्री श्रेष्ठको दावी थियो ।
खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडा कार्यालयका प्रमुख हरिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाललगायतले नगरभित्रका सबै जनतालाई हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमार्फत् वितरण भइरहेको खानेपानीको सुविधा प्राप्त होस् भन्ने आफूहरुले चाहेको बताउनुभएको थियो । उपमहानगरमार्फत् ८ हजार घरधुरीले निःशुल्क खानेपानीको उपभोग गरिरहेको र बोर्डमार्फत् २८ हजार घरधुरीले खानेपानीको सुविधा लिइरहेको बताइएको छ ।