निर्वाचनमा उम्मेदवार बनेका विद्यार्थीहरु सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित बालज्योति माविमा क्याप्टेन, सहक्याप्टेन तथा हाउस क्याप्टेनको निर्वाचन सुरु भएको छ । आइतबारदेखि सुरु भएको निर्वाचन कार्यक्रममा क्याप्टेनको पदका लागि कक्षा ८ र ९ का ९ जना विद्यार्थीले उम्मेद्वारी दर्ता गरेका छन् ।

विद्यालय क्याप्टेनका लागि ४ जना छात्रा र ५ जना छात्रको उम्मेद्वारी दर्ता भएको विद्यालयका निर्वाचन समितिका सदस्य सचिव चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । मतदानमा आधारित छात्रा क्याप्टेन भएमा सहक्याप्टेनमा छात्र निर्वाचित हुनेछन् भने छात्र क्याप्टेन भएमा सहक्याप्टेनमा छात्रा निर्वाचित हुने व्यवस्था मिलाइएको छ । यस्तै, ४ वटा हाउसमा क्याप्टेन र सहक्याप्टेन गरी ८ जना विद्यार्थी निर्वाचित हुनेछन् । जसका लागि हरेक हाउसमा ३–३ जनाको उम्मेद्वारी दर्ता भएको घिमिरेले जानकारी दिनुभयो । मतदान २७ गते आइतबार हुनेछ ।

निर्वाचन कार्यक्रमको पहिलो दिन उम्मेद्वारको मनोनयन दर्ता भएको छ । सोही दिन नामावली सूची प्रकाशन तथा विद्यालयका स्काउट विद्यार्थीलाई म्यादी प्रहरीमा नियुक्तिजस्ता कार्य भएको छ । यस्तै, आज सोमबार उम्मेद्वारको विरोधमा उजुरी, मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार कक्षा १० का विद्यार्थीलाई मतदान गर्नमात्र सहभागी गराइनेछ । कार्यक्रममा ४ कक्षादेखि १० कक्षाका लगभग १ हजार जना विद्यार्थीले मतदान गर्नेछन् । बालज्योति माविमा एक हजार ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।