छलफल कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री कुमारी मोक्तान ।

हेटौंडाः बागमती प्रदेश सरकारको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बागमती प्रदेश सरकारले सबै जनालाई सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्न चाहेको बताउनुभएको छ । आइतबार हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय व्यावयायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्यसम्बन्धी छलफल कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अहिले युवाहरुले सीप सिक्न चाहेपनि नपाइरहेको भन्दै उहाँले आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले छलफल गरिरहेको बताउनुभयो । यसका लागि प्रदेश सरकारले सीप वर्षको घोषणा गरी तयारी गरिरहेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले अहिले प्रदेश युवा परिषद्बाट ६ हजार जना युवाहरुलाई तालिम दिइरहेको दावी गर्नुभयो । हरेक क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

यस विषयमा कसरी अगाडि बढ्न सकिन्छ भनेर तीनै तहका सरकार र निजी क्षेत्रले छलफल गरेर सहकार्य गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकाले अहिले नीति तथा कार्यक्रममाथि छलफल गरिरहेको बताउनुहुँदै निजी क्षेत्रसँग जोडेर बजेट आउने आश्वासन दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका सभापति दिलसुन्दर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव राजन पौडेललगायत प्रदेशभित्रका उद्योग वाणिज्य संघका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।