![Makwanpur Cricket Club's winning start in the player selection competition](https://samriddhasamaj.com/wp-content/uploads/2025/02/Makwanpur-Cricket-Clubs-winning-start-in-the-player-selection-competition-696x454.jpg)
हेटौंडा: मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले निर्णायकलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गर्नुभएको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा भएको पहिलो खेलमा मकवानपुर क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । मकवानपुर क्रिकेट क्लबले क्रिकेट एकेडेमी मकवानपुर (क्यान) ११ को टिमलाई १ सय ७५ रनले पराजित गरेको हो ।
खेलाडी छनोटका लागि सञ्चालन गरिएको प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले निर्धारित २५ ओभरमा ३ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । मकवानपुरबाट इरफान अलीले सर्वाधिक ६४ रन बनाएका थिए । यस्तै, सुवर्ण भट्टले ५२ रन, रिजन ढकालले ३४ रन, विशेष थापाले २७ रन र रामनरेश गिरीले २२ रन बनाएका थिए । बलिङतर्फ वीरेन श्रेष्ठ, अनिल पाण्डे र समरान गौतमले समान एक/एक विकेट लिएका थिए ।
२ सय ३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको क्रिकेट एकेडेमी मकवानपुरले ५९ रन बनाउँदै अल आउट हुनुपर्यो । राजकिशोर साहले १३ रन जोडेका थिए । बलिङतर्फ साकार गजुरेलले सर्वाधिक ६ विकेट लिएका थिए । प्राञ्जल उपाध्यायले ५ विकेट लिँदा रामनरेश गिरीले २ विकेट लिएका हुन् । खेलको म्यान अफ द म्याच साकार गजुरेल घोषित भएका छन् । म्यान अफ द म्याचको पुरस्कारको प्रायोजन अप्लाइन एजुकेशन फाउण्डेशनका सञ्चालक सरोज बरालले गर्नुभएको छ ।
मंगलबारै भएको दोस्रो खेलमा ओमनगर क्रिकेट क्लब विजयी भएको छ । न्यू मर्निङ क्रिकेट क्लबलाई १० विकेटले हराउँदै ओमनगर विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू मर्निङको टिमले निर्धारित २५ ओभरमा ९७ रन बनाउँदै १० विकेट गुमाएको थियो । न्यू मर्निङका युविन बुढाथोकीले सर्वाधिक ५० रन बनाएका थिए । सरोज यादवले १३ रन बनाएका थिए ।
बलिङतर्फ असिम श्रेष्ठले ४ विकेट लिएका थिए । रोहित ठाकुरले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको ओमनगरको टिमले ११ ओभरमा कुनै पनि विकेट नगुमाइ १ सय १८ रन बनाएको थियो । शुभ कंसाकारले ६० रन र गौरव खड्काले ३४ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच असिम श्रेष्ठ घोषित भएका छन् ।
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरअनुसार हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरका खेलाडीहरु सहभागी गराउन छनोट प्रतियोगिता आयोजना गरेको संयोजक पोखरेलले बताउनुभयो । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेपछि १४ जनालाई प्रारम्भिक सूचीमा राख्ने उहाँले बताउनुभयो । छनोट प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट व्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।