प्रत्येक व्यक्तिको आधारभूत आवश्यकता हो, खानेपानी । मानिसमात्र नभई सबै सजीवलाई बाँच्नको लागि पानी आवश्यक पर्दछ । स्वच्छ र गुणस्तरीय खानेपानीको सहज उपलब्धतालाई मानिसको स्वास्थ्य र गुणस्तरीय जीवनको पर्यायको रुपमा लिइन्छ । मानवीय विकासका विभिन्न सूचकमध्ये खानेपानीको सहज सुविधा पनि एक हो । दैनिक जीवनमा अत्यावश्यक खानेपानीको सहज र सुलभरुपमा उपलब्ध गराउनु सरकारको दायित्व पनि हो । नेपाललाई जनस्रोतको दोस्रो धनी देश भन्ने गरिए पनि सुरक्षित स्रोतबाट खानेपानी सुविधा पाउने जनसंख्या निकै कम छ । आम नेपालीले धारा वा अन्य स्रोतको पानी शुद्धिकरण नगरी खान मिल्ने अवस्था बन्नुपर्छ । अधिकांश शहरी क्षेत्रमा खानेपानी वितरण प्रणाली सहज भए पनि स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध हुन सकिरहेको छैन । हेटौंडा उपमहानगरपालिकाका अधिकांश क्षेत्रमा अन्यत्रको तुलनामा खानेपानी आपूर्तिको अवस्था सन्तोषजनक रहे पनि खानेपानीको स्वच्छता र गुणस्तरीयताको ग्यारेन्टी हुन सकेको छैन ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १२ वर्षको अवधिमा सेवा विस्तारमा उल्लेख्य वृद्धि गरेको छ । बोर्डले सेवा क्षेत्र विस्तारसँगै खानेपानी स्रोतको विकास आपूर्ति वृद्धिमा पनि ध्यान दिइरहेको छ । मंगलबार १२ औं वर्षमा प्रवेश गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट हेटौंडा उपमहानगरपालिकाका १ लाख ६० हजार नरबासी लाभान्वीत भएको बताएको छ । बोर्डले मकवानपुर गढी गाउँपालिकामा रहेको बुङ्दल मुहानबाट सतहगत पानी संकलन गर्दै आएको छ भने बाँकी सबै भूमिगत पानी संकलन गरी वितरण गर्दै आएको छ । १२ वटा समवेल र ३६ वटा डिप ट्युवेलबाट दैनिक ३ करोड ५० लाख लिटर खानेपानी संकलन गरी वितरण गरिरहेको छ । बोर्डले उपमहानगर पालिकाको सामरी, राप्ती, कर्रालगायत खोला किनार तथा अन्य सम्भावित क्षेत्रबाट भूमिगत पानी संकलन गर्दै आएको छ ।
तत्कालीन हेटौंडा नगरपालिकामा खानेपानी वितरण गर्दै आएको नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल खानेपानी संस्थानको हेटौंडा शाखालाई २०७० जेठ ८ गते स्वायत्त प्रकृतिको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको थियो । सुरुवातमा खानेपानी संस्थानले सेवा दिइरहेको तत्कालीन वडा नम्बर १, २, ३, ४, ५ र १० मा बोर्डमार्फत् सेवा प्रवाह हुने गर्दथ्यो । देश संघीयतामा गएसँगै आसपासका ५ वटा गाउँविकास समिति गाभेर हेटौंडा उपमहानगरपालिका बनाइएपछि बोर्डको सेवा क्षेत्र पनि विस्तार हुँदै गएको हो । करिब २ वर्ष अघिबाट बोर्डमार्फत् खानेपानी सुविधा लिने ग्राहकको १० हजार लिटरसम्मको खानेपानी महसुल उपमहानगरपालिकाले निःशुल्क गरेपछि खानेपानी उपभोक्ता समितिहरु पनि बोर्डमा हस्तान्तरण हुने क्रम बढेको छ । यसबीचमा १६ वटा खानेपानी उपभोक्ता समितिका ९ हजार ५ सय घरधुरी बोर्डमा समाहित भएका छन् । बोर्डले खानेपानी संकलन र वितरणसँगै पुराना पाइपलाइन फेर्ने र नयाँ पाइपलाइन विस्तारको काम पनि गरिरहेको छ ।
करिब २ लाख जनसंख्या रहेको हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्रमा बोर्डको सेवा पुग्न सकेको छैन । उपमहानगरपालिकाको १९ वडामध्ये अझै वडा नम्बर ११, १२ र १३ मा बोर्डको सेवा शून्य छ । उपमहानगरको ग्रामीण क्षेत्रका वडाहरुमा पनि सबैतिर बोर्डको सेवा पुगेको छैन । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको थप स्रोत पहिचान, विकास र विस्तारमा सफलता हासिल गरिरहेको छ । वितरण प्रणालीमा सुधार गरी खानेपानी आपूर्ति सहज बनाइरहेको बोर्डले अब स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने दायित्वलाई भुल्नु हुँदैनन । बोर्डले संकलन गरिरहेको पानीको मुहान संरक्षणमा पनि ध्यान दिनुपर्ने देखिन्छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा बढ्दो जनसंख्यालाई धान्ने दीर्घकालीन योजना बोर्डले बनाउनुपर्छ । यसका लागि ठूलो परिमाणमा खानेपानी आपूर्ति हुने सतही पानीको स्रोत पहिचान र विकासमा बोर्डको ध्यान जानु आवश्यक छ ।