नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । सवारी साधन दुर्घटना बढ्दै जाँदा सडक सुरक्षाबारे चर्चा हुन थालेको छ । देशका अधिकांश सडकमा सवारी दुर्घटनाको जोखिम उच्च छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत सडक सञ्जाल विस्तार हुँदै जाँदा दुर्घटनाको जोखिम पनि बढाएको छ । सडकलाई सुरक्षित बनाउन नसक्दा दुर्घटनाकै कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको छ । प्रभावकारी र भरदपर्दो वैकल्पिक यातायातको साधन नहुँदा सडक यातायातमै भर पर्नुपर्ने बाध्यात्मक अवस्थामा सडक नै असुरक्षित भइदिँदा आम नागरिकमा त्रास बढेको छ । यात्राको क्रममा सुरक्षितरुपमा गन्तव्यसम्म पुग्न सकिने हो वा होइन भन्ने चिन्ताले सवारी चालक तथा यात्रुलाई सताउने गरेको छ ।

पछिल्लो समय मकवानपुर जिल्लामा सडक दुर्घटना र त्यसबाट मर्नेको संख्या वृद्धि भएको छ । अहिले जिल्लाको धरान–चतरा सडक (मदन भण्डारी लोकमार्ग) र कान्ति लोकपथमा सडक दुर्घटनाको दर बढ्दै गएको छ । यस्तै, हेटौंडा–कुलेखानी–काठमाडौं सडकमा पनि दुर्घटनाको जोखिम उच्च रहेको छ । सडक दुर्घटनाको राष्ट्रिय तथ्यांक हेर्ने हो भने अवस्था कहालीलाग्दो छ । पछिल्लो तथ्यांकले औसतमा दैनिक एक सयको हाराहारीमा सडक सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाबाट दैनिक १० जनाको ज्यान जाने गरेको छ भने गम्भीर घाइतेको संख्या मृत्यु हुनेको संख्याको दोब्बर छ । प्रहरीको तथ्यांकअनुसार पछिल्लो डेढ दशकमा मुलुकभर सडक दुर्घटनाबाट ३३ हजार जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ३ लाख १६ हजारभन्दा बढी सवारी साधन सडक दुर्घटनामा परेका छन् । दुर्घटनामा ७२ हजार जना गम्भीर घाइते भएका छन् ।

विश्वभर सडक दुर्घटना न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघले सन् २०११ देखि २०२० लाई सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने दशकका रूपमा मनाएको थियो । नेपालले यसलाई अनुमोदन गर्दै सन् २०२० भित्रमा ५० प्रतिशतले सडक दुर्घटनाबाट हुने मृत्यु र घाइते दर घटाउने प्रतिबद्धता गरेको भए पनि सोही अवधिमा वर्षेनि सडक दुर्घटना र त्यसबाट हुने जनधनको क्षतिको दर बढ्दै गएको छ । उक्त अवधिमा सडक दुर्घटनाको वार्षिक मृत्युदर १ हजार ६ सय ८९ बाट १ हजार १ सयले बढेर २ हजार ७ सय ८९ सम्म पुगेको थियो । सन् २०२० फेब्रुअरीमा सडक सुरक्षासम्बन्धी स्वीडेनको स्टकहोममा भएको तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा नेपालले सडक दुर्घटना मृत्यु र घाइते दर सन् २०३० सम्ममा ५० प्रतिशत र सन् २०५० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता गरेको छ । तर, त्यसपछि पनि वर्षेनि सडक दुर्घटनाको संख्या बढ्दै जानुले सरकारी प्रतिबद्धता कागजमै सिमित बन्ने निश्चित भएको छ ।

नेपालमा सडक दुर्घटनाको मुख्य कारणमा सवारी चालकको लापरबाही र तीव्र गतिलाई लिइन्छ । सवारी साधनको यान्त्रिक गडबडी र सडकको अवस्थाका कारण पनि धेरै सवारी साधन दुर्घटना हुने गरेका छन् । सवारी साधनले क्षमताभन्दा बढी सामान वा यात्रु बोक्नु, सडक अनुशासन (ट्राफिक नियम) पालना नगर्नु, पैदलयात्रीले जथाभावी हिँड्नु र बाटो काट्नुलाई पनि दुर्घटनाका कारण मान्ने गरिएको छ । सडक दुर्घटनाका कारण थाहा हुँदाहुँदै पनि दुर्घटना बढ्नुले सडक सुरक्षाप्रति सबै पक्ष उदासिन बनेको स्पष्ट हुन्छ । सडक दुर्घटना कम गरी सडकलाई सुरक्षित बनाउन अत्यावश्यक छ । यसका लागि सरकारले प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ । सडक सुरक्षाप्रति यातायात व्यवसायी, सवारी चालक, यात्रु, पैदयात्री सबै सचेत बन्नुपर्छ । सवारी नियमनको जिम्मेवारी पाएका निकायले इमान्दारसाथ काम गर्नुपर्छ । प्रतिबद्धता र चिन्ताले मात्र समस्या समाधान हुँदैन । दुर्घटना न्यूनीकरण गरी सडकलाई सुरक्षित राख्न सम्बद्ध सबै पक्ष गम्भीर भएर आ–आफ्नो दायित्व पूरा गर्नु आवश्यक छ ।