हेटौँडाः प्रदेश युवा परिषद्को आयोजनामा आज शुक्रबारबाट हेटौँडामा प्रदेश युवा सम्मेलन–२०८१ सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनमा प्रदेशका २ सय युवा सहभागी हुँदैछन् । आज बिहान हेटौँडाको बुद्धचोकबाट झाँकीसहित प्रभातफेरीको आयोजना हुनेछ । बुद्धचोकबाट सुरु हुने प्रभातफेरी नगर परिक्रमा गरी सम्मेलनस्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा पुग्नेछ । प्रदेश युवा सम्मेलनको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुनेछ ।
सम्मेलनमा सहभागी युवालाई विभिन्न विषयमा रहेर अन्तरक्रिया, बहस गरिनेछ । अनलाइनमार्फत सहभागी छनोट गरेको परिषद्ले शिक्षा, विदेशमा आर्जित ज्ञान, सीप र पुँजी नेपालमा लगानीको अवस्था र अवसरका विषयमा बहस गर्नेछ । नवप्रवर्तन र उद्यमशीलतालाई मुल मर्म बनाएको परिषद्ले सूचना प्रविधिको विषयमा बहस गर्नुका साथै सहभागीलाई सम्पदा यात्राको समेत व्यवस्था गरेको जनाएको छ । बिहिबार साँझ सहभागीबीच परिचयात्मक कार्यक्रम सम्पन्न भइसकेको छ ।
सम्मेलनमा सहभागी हुने अधिकांश बिहिबार साँझ हेटौँडा आइपुगेका छन् । सम्मेलनमा युवालाई सहभागी गराएर ज्ञान, सीप र व्यक्तित्व विकासमा सहयोग गर्ने प्रयास गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभएको छ । प्रदेशका २ सय युवालाई सहभागी गराएर उनीहरुमा भएका ज्ञान, सीप र दक्षतालाई पनि युवा माझ प्रस्तुत गर्ने अवसर प्रदान गरिने चौलागाईको भनाइ छ । प्रदेश सरकारको विशेष कार्यक्रमको रुपमा गत बर्ष सफलताका साथ सम्मेलन आयोजना गरिएको र यस बर्ष पनि सहभागीको उत्साहजनक सहभागिताले सम्मेलन सफल हुने चौलागाईले विश्वास व्यक्त गर्नुभयो ।