सन्दर्भः लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस
हेटौंडाः लागूऔषधको प्रयोग तथा कारोबारको मुद्दामा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा ३५१ कैदीबन्दी रहेका छन् । यो संख्या कारागारमा कैदीबन्दी जीवन बिताइरहेका कुल कैदीबन्दीको एकतिहाई भन्दा बढी संख्या हो । भीमफेदी कारागारमा बिहिबार ९४५ कैदीबन्दी रहेको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिनुभएको छ ।
यता जिल्ला प्रहरी कार्यालयको हिरासतमा कुल १६ जना रहेकोमा ४ जना लागूऔषधसम्बन्धी मुद्दाका छन् । लागूऔषध कारोबारको मुद्दामा दोषी ठहर भई १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति समेत रहेको कारागार प्रमुख खनालको भनाइ छ । लागूऔषधसम्बन्धी मुद्दामा अन्य मुद्दाका कैदीबन्दीले जस्तो छुट नपाउने हुँदा कैद तोकिए बराबरकै सजाय भुक्तान गर्नुपर्ने भएकोले लामो समय बन्दी जीवन बिताउनुपर्ने अवस्था रहन्छ । लागूऔषध मुद्दामा भीमफेदी कारागारमा रहेका ३५१ कैदीबन्दी मध्ये मकवानपुर जिल्लाकै नागरिक आधा संख्यामा रहेको कारागार कार्यालयले जनाएको छ । मकवानपुर जिल्लाको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका नागरिक लागूऔषधसम्बन्धी मुद्दामा कैदीबन्दी जीवन बिताउनेको संख्या बढी छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजाको अवैध खेती हुने गरेको छ । यता भारतको रक्सौल सीमाबाट औषधिजन्य लागूऔषधको अवैध आयात हुने गरेको छ ।
लागूऔषधको प्रयोगले विशेषगरी युवा पुस्ता बढी प्रभावित छ । प्रहरीले लागूऔषधको प्रयोग र कारोबारलाई रोक्न विशेष ध्यान दिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्रबहादुर रानाले बताउनुभएको छ । नेपाल प्रहरीले लागूऔषध नियन्त्रण विशेष टिम नै बनाएर काम गरिरहेको जानकारी दिनुहुँदै डिएसपी रानाले समुदायका अगुवा र परिवारमा अभिभावकले आफ्ना छोराछोरीको व्यवहारबारे विशेष निगरानी गर्न सुझाव दिनुभएको छ । लागूपदार्थको प्रयोग र यसको कारोबार न्यूनीकरण गर्न संसारभरको प्रयासलाई अझ सशक्त बनाउन संयूक्त राष्ट्रसंघले सन् १९८७ देखि ‘लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाउन सुरु गरेको छ । लागूऔषधको प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छे मर्ने गरेको छ । लागूऔषधको प्रयोग गर्ने मान्छेहरुको संख्या यकिन नै गर्न सक्ने अवस्थामा नरहेको बताइन्छ ।
नेपालमा पनि लागुऔषधको कारोबार र प्रयोग सन् १९६० पश्चातको हिप्पी संस्कारपछि बढ्दै गएको पाइन्छ । गाँजाको अनाधिकृत खेति र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने पदार्थ र फितलो राज्य व्यवस्थाका कारणले अहिले नेपाल पनि लागूऔषधको कार्यभूमि बन्दै आएको बताइन्छ । नेपालमा लागूऔषध सम्बन्धी कडा कानूनी व्यवस्था भए पनि लागूऔषधको प्रयोग र यसको अवैध कारोबारमा भने कमि ल्याउन सकेको छैन ।