हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/२०७८ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटलाई नगरवासीले ध्यानपूर्वक हेरेका छन् । हेटौंडाका प्रमोद वाग्लेले हेटौंडा उपमहानगर प्रदेशको राजधानीको नाममा मात्रै सीमित भएको गुनासो गर्नुभएको छ । भौतिक विकाससँगै हेटौंडाको स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ । हेटौंडाका साँघुरा सडकहरु फराकिलो पार्नेतर्फ पनि उपमहानगरले ध्यान दिनुपर्ने वाग्लेको भनाइ छ ।
यस्तै हेटौंडाका राजु खनालले सबैभन्दा महत्वको विषय स्वास्थ्य क्षेत्र भएको बताउनुभएको छ । हेटौंडामा सबै स्वास्थ्ययुक्त अस्पताल स्थापनामा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने बताउनुहुन्छ । स्वास्थ्य उपचारका लागि काठमाडौं, भरतपुर धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सरकारी अस्पतालको स्तरोन्नति र निजी क्षेत्रबाट पनि ठूला अस्पताल स्थापना गर्न प्रोत्साहित गर्नुपर्ने खनाल बताउनुहुन्छ ।
हेटौंडा नगरवासी माया थापा हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्रका भित्रि सडकहरु बिग्रिएकोले पैदलयात्रीलाई समस्या भएको बताउनुहुन्छ । माया थापा पनि हेटौंडामा स्वास्थ्य सेवाकै सुधारको अपेक्षा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हेटौंडामा आएका बिरामीहरुलाई अन्यत्र रिफर गर्नु नपरोस्, यहिँ सबै स्वास्थ्य सेवा उपलब्ध होस् ।’ व्यवसायी रवि नेपालले बजेटको सदुपयोग हुनुपर्ने बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, युवाका लागि रोजगारीको अवसर पनि सिर्जना गर्नुपर्ने बताउनुहुँदै नेपाल भन्नुहुन्छ, ‘देशभित्रै, आफ्नै स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गरी कोहि युवा विदेश जानु नपरोस् ।’ अहिले कोरोनाको महामारीले गर्दा दैनिक गुजारामा समस्या परेकाहरुलाई पनि सहयोग गर्ने तर्फ उपमहानगरको ध्यान जानुपर्ने नेपालको भनाइ छ ।
सुशान्त कार्की भन्नुहुन्छ, ‘खेलकुदको क्षेत्रलाई पनि ध्यानाकर्षण भएको छ, यो खुशीको कुरा हो, खेलाडीहरुलाई अझै आत्मबल बढ्ने छ त्यसको लागि हेटौंडा उपमहानगरपालिकालाई धन्यवाद दिन चाहान्छु ।’ कार्की भन्नुहुन्छ, ‘विकासका अरु गतिविधि हेटौंडामा भइराखेका छन्, निरन्तर भइराखे राम्रो हुन्छ ।’
हेटौंडा उपमहानगरपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा केहीदिनपछि नगर सभाका सदस्यहरुबीच छलफल हुनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा बुधबार हेटौंडा उपमहानगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट उपमेयर मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएको थियो ।