बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर संख्या बढाउने भएको छ । बागमती प्रदेशमा मन्त्रीको व्यवस्थापन गर्न मन्त्रालय विभाजनको तयारी भइरहेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले चैत २० गते प्रदेश सरकार विस्तारका क्रममा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त गर्नुभएको थियो । प्रदेशमा बिनाविभागीय एक मन्त्री व्यवस्थापनका लागि मन्त्रालय विभाजन गर्न लागिएको मुख्यमन्त्री जम्कट्टेलको दाबी छ । आगामी शुक्रबारसम्म मन्त्रालय विभाजन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

प्रदेशमा १३ मन्त्रालय बनाउने सरकारको तयारी रहेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, ‘अहिले हामी विशिष्ट राजनैतिक अवस्थामा छौँ, प्रदेशमा मन्त्रालयको संख्या बढ्छ, मन्त्रालय बढाउन हामी गृहकार्य गरिरहेका छौँ ।’ मन्त्रालय विभाजनका लागि कार्यदल बनाएका कार्य गरिरहेको उहाँको भनाइ छ ।

कुन मन्त्रालय विभाजन गर्ने भन्ने विषयमा निर्णय नभएको बताउँदै सत्ता साझेदार दलहरूबीचको छलफलपछि उपयुक्त विभाग गठन गरेर मन्त्री व्यवस्थापन गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । सरकार विस्तारले पूर्णता नपाउँदा न त प्रदेशसभा बैठक नै बसेको छ, न मन्त्रिपरिषद् बैठक बस्न सकेको छ । राजनैतिक अस्थिरताका कारण सरकार विस्तार हुन नसकेको बताउँदै सरकार विस्तारपश्चात् नियमित कार्यमा सहज हुने मुख्यमन्त्री जम्कट्टेलको दाबी छ ।

यता नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले मन्त्रालय विभाजन गर्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । आफूहरुसँग मन्त्रालय भागबण्डा र मन्त्री व्यवस्थापनका विषयमा कुनै छलफल नभएको उहाँले दाबी गर्नुभयो । बजेट अनुसार मन्त्रालयको पुनर्विभाजन हुनुपर्ने उहाँको भनाइ छ ।

‘बजेट भएका मन्त्रालयहरु आफूूसँग राखेर मुख्यमन्त्रीले हामीलाई बायस गर्न खोज्नुभएको छ,’ नेता खनालले भन्नुभयो, ‘हिजोको दिनमा एक मन्त्री बाँकी हुँदाहुँदै पनि मन्त्री नियुक्त गरी मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।’ एकीकृत समाजवादीले बागमती प्रदेश सरकारका विषयमा आफ्नो स्पष्ट धारणासहित मुख्यमन्त्रीलाई जानकारी गराइसकेको बताउँदै मन्त्रालय पुनर्विभाजन हुनुपर्ने माग राखेकाले आफ्नो पार्टीको बदनाम गरेर मन्त्रालय विभाजनमा सरकार लागेको उहाँको आरोप छ ।