हेटौँडाः हेटौँडा–९ स्थित लामसुरे हाइट टोल विकास संस्थाको आयोजनामा बालबालिकाको सहभागितामा पुस्तक परिचर्चा तथा पठन संस्कृतिसम्बन्धी बहस भएको छ । शुक्रबार बिहान वडामै रहेको सामुदायिक भवनमा भएको कार्यक्रममा वडामा रहेका टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै विद्यार्थीले अध्ययन गरेको पुस्तकमाथि चर्चा गरेका थिए ।
आयोजकले एक साताअघि पुस्तक परिचर्चासम्बन्धी अभिमुखीकरण गराएर बालबालिकाका लागि उपयुक्त पुस्तक वितरण गरेको थियो । अभिमुखीकरण कार्यक्रममा ४० जना बालबालिकाको सहभागिता रहेको थियो । लामसुरे हाइट टोल विकास संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा पहिलो चरण पुस्तक परिचर्चा भएको थियो भने दोस्रो चरण पठन संस्कृतिसम्बन्धी बहस भएको थियो । पुस्तक परिचर्चामा सहभागी १४ जना बालबालिका मध्ये ५ जनालाई उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको थियो । प्रगति टोल विकास संस्थाकी स्नेहा रिमाल, धर्मपथ टोल विकास संस्थाकी दिपिका बस्नेत, सन्तोषी टोल विकास संस्थाकी युनिष्का खनाल, लामसुरे हाइट टोल विकास संस्थाकी प्रभिा नेपाल र श्री सत्यसाई केन्द्रकी कल्याणी खतिवडा उत्कृष्ट ५ प्रस्तोतामा पर्न सफल भए ।
पठन संस्कृतिसम्बन्धी बहसमा वडा अध्यक्ष सुकराम केसी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक प्रधानध्यापक एवम् पत्रकार सुरेश श्रेष्ठ र किताबघरका सञ्चालक छवि अनित्य सहभागी हुनुहुन्थ्यो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अभिभावकत्वमा भएको बहसमा सहभागीले पठन संस्कृतिको विकासमा स्थानीय सरकार, समुदाय, अभिभावक, विद्यालयले गर्नुपर्ने कामका विषयमा जोड दिएका थिए । बहसमा वडा अध्यक्ष केसीले शैक्षिक क्रियाकलापसम्बन्धी कार्यक्रमलाई वडाले वजेट छुट्याउने बताउनुभयो । पठन संस्कृतिको विकासका लागि समुदायबाट आउने प्रस्तावलाई वडाले सहयोग गर्ने पनि उहाँको भनाइ थियो ।
बहसमा सहभागी पत्रकार सुरेश श्रेष्ठले परिवार, समुदायमा पठन संस्कृतिको अभ्यासलाई जोड दिनुपर्ने सुझाव दिनुभयो । विद्यालय, विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीले मात्रै नभई परिवारका सबै सदस्यले हरेक दिन अध्ययन गर्दा पठन संस्कृतिको विकास हुँदै जाने श्रेष्ठको भनाइ थियो । यसले विद्यालय र विश्वविद्यालय तहमा पढ्ने परिवारका सदस्यलाई अध्ययनमा प्रोत्साहन हुने श्रेष्ठले दावी गर्नुभयो । किताबघरका सञ्चालक छवि अनित्यले पछिल्लो समय पठन संस्कृतिका लागि विभिन्न क्रियाकलाप गर्दै जाँदा पठनीय पुस्तकको खोजी गर्दै आउने पाठकको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो । वडा कार्यालयको आर्थिक सहयोगमा भएको बहसको सहजीकरण साहित्यकार, शिक्षक हरि पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरु ।