सांकेतिक चित्र । स्रोत : गुगल ।

हेटौँडा : मकवानपुर क्रिकेट संघले जिल्लामा पहिलो पटक महिला क्रिकेट टोली निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । संघका सचिव विनोद कुमार बानियाँका अनुसार मकवानपुर जिल्लाबाट पहिलो पटक वाइवाइ यु–१९ र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा महिला टोली सहभागी गराउने उद्देश्यले खेलाडी छनोटका लागि आह्वान गरिएको हो ।

यसअघि राष्ट्रिय प्रतियोगिताहरूमा पुरुष टोली मात्र सहभागी गराउँदै आएको मकवानपुरले यसपटक महिला टोली पनि सहभागी गराउन लागेको हो । टोली निर्माणका लागि संघले मंगलबार एक सूचना जारी गर्दै इच्छुक खेलाडीहरूका लागि दर्ता फर्म खुला गरेको छ । वाइवाइ यु–१९ प्रतियोगिताका लागि १ सेप्टेम्बर २००७ पछि जन्मेका खेलाडीहरूले मात्र आवेदन दिन पाउनेछन् । दर्ता भएका खेलाडीहरूलाई चार टोलीमा विभाजन गरी उनीहरूबीच एकदिवसीय अभ्यास खेल गराइनेछ । सोही अभ्यास खेलको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी छनोट गरी बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा पठाइने संघले जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यतालिका अनुसार प्रदेशस्तरीय प्रतियोगिता आगामी मे महिनामा र राष्ट्रिय प्रतियोगिता जुन महिनामा सञ्चालन हुनेछ । मकवानपुरमा महिलाहरूको क्रिकेटमा रुचि कम भएका कारण हालसम्म टोली निर्माण हुन नसकेको सचिव बानियाँले बताउनुभयो । यद्यपि यसअघि मकवानपुरबाट सुजिता थापाले राष्ट्रिय टोलीबाट खेलिसकेकी छिन् । जिल्लामा क्रिकेट मैदानको अभावले गर्दा हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता सञ्चालन गर्दा चुनौती सामना गर्नुपरेको सचिव बानियाँको भनाइ छ । बागमती प्रदेश सरकारद्वारा हेटौँडा–६, गौरीट्टारमा नवनिर्मित क्रिकेट मैदान सञ्चालन आएपछि छनोट प्रतियोगिताहरू गौरीट्टारमा र साना खेलहरू हुप्रचौरमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।