हेटौँडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसले शिक्षक सेवा आयोगमा उत्तीर्ण उम्मेदवारलाई सम्मान गरेको छ । क्याम्पसमा स्नातक र स्नात्तकोत्तर तहमा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न बिहिबार आयोजित कार्यक्रममा आयोग उत्तीर्ण उम्मेदवारलाई सम्मान गरेको हो । आयोगको परीक्षामा उत्तीर्ण उम्मेदवारलाई सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा कक्षा १२, स्नातक चौथो वर्ष र स्नातकोत्तर चौथो सेमेस्टर तहको अध्ययन पूरा गर्ने विद्यार्थीलाई बिदाई समेत गरिएको थियो । स्ववियु अध्यक्ष अभि मैनालीको अध्यक्षता तथा क्याम्पस संचालक समिति अध्यक्ष आनन्दराम पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विश्वविद्यालय तह अध्ययन सकेर, विश्वविद्यालय तह अध्ययन नै नगरी विदेशिने क्रम बढ्दो क्रममा रहेको उल्लेख गर्नुहुँदै स्ववियु अध्यक्ष मैनालीले विश्वविद्यालय तह अध्ययन गर्ने र अध्ययन पूरा गर्ने विद्यार्थीले देशमै अवसरको खोजी गर्ने र अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष मैनालीले जेहेन्दार विद्यार्थीलाई निशुल्क लोक सेवा, शिक्षक सेवा आयोगका परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा क्याम्पस संचालक समिति सदस्यहरु, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, क्याम्पस प्रमुख देवीराम लामाको पनि आतिथ्य रहेको थियो ।