प्रिन्सिपिल दिपेश जोशी ।

हेटौँडा : नयाँ शैक्षिक सत्र सुरु भएसँगै हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविले शैक्षिक गुणस्तरमा सुधार गर्न कक्षामा विद्यार्थी संख्या घटाउने र शिक्षकको क्षमता विकासमा जोड दिने योजना बनाएको छ । १० कक्षासम्म पठापाठन हुने नवोदय शिशु सदनले एउटा कक्षामा ३६ जना विद्यार्थी संख्यालाई घटाएर ३२ मा सीमित गर्ने योजना बनाएको छ ।

नयाँ शैक्षिकसत्रको तयारीको विषयमा समृद्ध समाज दैनिकसँग कुराकानी गर्दै नवोदय शिशु सदनका प्रिन्सिपल दिपेश जोशीले भन्नुभयो, ‘विद्यार्थीको सिकाई उपलब्धी बढाउन, विद्यार्थीको समग्र विकासका लागि कक्षामा विद्यार्थीको संख्या घटाउने र शिक्षकको क्षमता विकासमा जोड दिने योजना बनाएका छौं ।’ २०५२ सालमा स्थापित नवोदय शिशु सदन २०७२ सालदेखि नयाँ अवधारणामा अगाडि बढेको हो । विद्यार्थीको समग्र विकास गर्ने उद्देश्यसहित नवोदयले नयाँ अवधारणा सुरु गरेको पहिलो वर्ष ३ सय विद्यार्थी थिए भने शैक्षिकसत्र २०७४ मा विद्यार्थी संख्या ८ सय पुग्यो ।

‘सुरुमा एउटा मात्रै सेक्सन राखेर विद्यालय सञ्चालन गर्ने योजनामा थियौं । तर, एउटा कक्षामा एउटा मात्रै सेक्सन सञ्चालन गर्दा विद्यालयको आय–व्यय सन्तुलित नहुने देखिएपछि एउटा कक्षामा २ वटा सेक्सन सञ्चालन गर्‍यौं’, प्रिन्सिपल जोशीले भन्नुभयो, ‘अभिभावकको मागअनुसार अहिले तीन वटा सेक्सन सञ्चालित छ । शैक्षिक सत्र २०८० सम्म एउटा सेक्सनमा ४० जना विद्यार्थी थिए भने शैक्षिकसत्र २०८१ बाट ३६ जनामा सीमित गरेका थियौं । अहिले भने एउटा सेक्सनमा ३२ जना मात्रै विद्यार्थी सीमित गर्ने योजनामा छौं ।’ विद्यार्थीको समग्र विकासका लागि शिक्षकले पर्याप्त सहजीकरण गर्न सक्ने गरी विद्यार्थी संख्या सीमित गर्न खोजिएको प्रिन्सिपल जोशीको भनाइ छ ।

विद्यार्थी संख्या सीमित गर्ने योजनाअनुसार नै शैक्षिकसत्र २०८३ का लागि पूर्वप्राथमिक तह भन्दा माथि नयाँ भर्नाका लागि सोधपुछमा आउने अभिभावक र विद्यार्थीको नाम समेत टिपोट नगरिएको उहाँको भनाइ छ । यतिबेला नवोदय शिशु सदनमा शिक्षकको क्षमता विकास लागि ५ दिने कार्यशाला चलिरहेको छ । विद्यालयले पाठ्यक्रममा आधारित भएर पठनपाठन तथा शैक्षिक क्रियाकलाप गर्ने, कक्षाकोठामा हुने सिकाईका अभ्यासमा सुधार गर्ने, मूल्यांकन प्रणालीमा संरचनागत सुधारका साथै निदानात्मक उपाय अपनाउने र अनुशासन र सामाजिक–भावनात्मक विकासमा जोड दिने योजना बनाएको प्रिन्सिपल जोशीले स्पष्ट पार्नुभयो ।

नियमित पठनपाठनका क्रममा नवोदयले प्रमुख चुनौतिको रुपमा दक्ष जनशक्तिको अभावलाई लिएको छ । जसका कारण नवोदयले नवोदय इनोभेसन सेन्टरमार्फत कक्षा–११ मा शिक्षाशास्त्र संकायमा नेपाली, गणित र अंग्रेजी विषयमा ३० जना विद्यार्थीलाई निशूल्क शिक्षा र तालिमको समेत व्यवस्था गरेको छ । पहिलो वर्ष विद्यार्थी संख्या कोटा भन्दा कम भए पनि अध्ययरत विद्यार्थीहरुको सिकाई प्रभावकारी भएको र दक्ष जनशक्तिको रुपमा तयार भइरहेको प्रिन्सिपल जोशीले दावी गर्नुभएको छ । दक्ष जनशक्तिको विकासकै लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा शिक्षााशस्त्र संकायमा स्नातक तहमा पनि पूर्ण छात्रवृत्तिमा पठनपाठन तथा तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल जोशीले जानकारी दिनुभयो ।

नयाँ शैक्षिकसत्रका लागि विद्यालयले शूल्क वृद्धि नगरेको उल्लेख गर्नुहुँदै प्रिन्सिपल जोशीले विद्यार्थी संख्या घटाएर शिक्षकको क्षमता विकासमा लगानी गरिरहँदा अभिभावकमा थप भार नपर्ने स्पष्ट पार्नुभयो । शैक्षिकसत्र २०८२ मा १ हजार २ सयको हाराहारीमा रहेको विद्यार्थी संख्या घटाएर नवोदयले एक हजारको हाराहारीमा विद्यार्थी राख्ने योजना बनाएको छ ।