हेटौँडाः बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिचाई मन्त्री एका लाल श्रेष्ठले नेकपा एमाले सबै किसिमको विभेदको अन्त्य गर्ने पार्टी भएको बताउनुभएको छ । सोमबार पार्टी निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको आठौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले समाजमा कुनै पनि विभेद रहनुहुन्न भन्ने तहमा एमाले पुगेर काम गरिरहेको बताउनुभयो ।
समाजमा अहिले पनि रहेको विभेदको अन्त्य गर्न सामुदायिक र राजनीतिक लडाइ गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुँदै उहाँले अभिभावकको रुपमा एमाले रहेको बताउनुभयो । नेकपा एमालेले नै दलित र महिलाहरुलाई साथमा लिएर अगाडि बढिरहेको उहाँको भनाई छ । अहिले दलितहरुमा हुने विभेदका कारण गरिबी रहेको बताउनुहुँदै उहाँले यसको अन्त्य गर्न शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
यस्तै नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माले देशमा अहिले रहेको व्यवस्था परिवर्तन भए पनि केही विभेदहरु नहटेको बताउनुभएको छ । समाज अहिले पनि जातीय विभेद र छुवाछुतको समस्या भोग्नुपरेको अवस्था रहेको उहाँले बताउनुभयो । यसलाई चिर्न संगठित भएर लाग्न आवश्यक रहेको उहाँको भनाई छ । समाज र व्यवस्था परिवर्तनमा अहिले उत्पीडनमा परेको जातिहरुको पनि भूमिका रहेको उहाँले बताउनुभयो । उहाँले सबै किसिमको विभेदको अन्त्य गर्न एमाले लागिरहेको पनि बताउनुभयो ।
संघका मकवानपुर अध्यक्ष गोविन्द विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, पार्टी मकवानपुरका उपसचिव एवम् जनसंगठन विभाग प्रमुख हिदम लामा, समाजका मकवानपुर जिल्ला इन्चार्ज नारायण रिजाल लगायतको उपस्थिति रहेको थियो ।