बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा सहभागी मुख्यमन्त्रीसहित मन्त्रीहरु ।

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेशमा भएका विकास निर्माणको कामलाई अनुगमन तथा नियमनका लागि कानुन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास निर्माणको कामको अनुगमन तथा नियमन र मूल्यांकनका लागि कानुन निर्माणका लागि सहमति दिएको हो ।

बैकठले प्रदेश अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री श्याम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको भौतिक पूर्वाधार तथा सामाजिक विकासको अनुगमन तथा मूल्यांकन नहुँदा समस्या हुँदै आएकाले सो समस्यालाई हल गर्न कानुन निर्माणको तयारी गरिएको हो ।

बैठकले जग्गा उपभोग सम्बन्धमा भक्तपुरमा रहेको ७ रोपनी ७ आना जग्गा यातायात कार्यालयको प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले भक्तपुर नखेल–१ को नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी मध्ये ५ रोपनी जनस्वास्थ्य प्रयोगशाला काभ्रेका कार्यालय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको मन्त्री खड्काले बताउनुभयो ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ को नेपाल सरकारको नाममा दर्ता कायम रहेको १२ रोपनी मध्ये ७ रोपनी जग्गा प्रशासनिक कार्य संचालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने गरी यातायात कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृत गरेको छ भने चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने निर्णय गरेको छ ।