हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा ठूलो रकम खर्च गर्दैछ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमातहतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत चालु आर्थिक वर्षमा मात्रै ३७ करोड रुपैयाँ अनुदान वितरणका लागि छुट्याएको छ ।
प्रदेशलाई दुग्ध, फुल, माछा जस्ता पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यति ठूलो रकम अनुदानस्वरुप वितरण गर्न लागेको हो । व्यावसायिक कृषि फार्म र सहकारीहरुलाई ठुलो रकममा अनुदान बाँडिने छ । मकवानपुर जिल्लामा मात्रै दुधमा दिईने अनुदान बाहेक करिब २ करोड ५० लाखको हाराहारीमा कृषि फार्म र सहकारीहरुलाई अनुदान दिने भएको छ । सहकारी र व्यक्तिगत फार्म दर्ता गरेकालाई मात्र प्रदेश सरकारले चालु आर्थिक वर्षमा अनुदानमा उपलब्ध गराउने भएको हो । निर्देशनालयले चालु आर्थिक वर्षमा करिब ६० प्रतिशत कार्य सम्पन्न गर्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा लकडाउनका कारण काममा असर परेको छ भने अनुदानमा स्वीकृत भएकाहरुको सम्झौता धेरैको हुन बाँकी छ । चालु वर्षको अन्तिम असार महिनामा सम्झौता हुनेहरुले अनुदान पाउने निर्देशनालयका प्रशासन तर्फका अधिकृत शिवराम बोहोराले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी १२ करोड रुपैयाँ किसानलाई उत्पादित दुधमा अनुदान दिइने भएको छ । उत्पादनमा आधारित दुधमा अनुदान १२ करोड बागमती प्रदेका १६७ सहकारीलाई दिन स्विकृत भएअनुसार अहिले विभिन्न सहकारीले अनुदान किसानलाई धमाधम बाँडिरहेका छन् । यस्तै मकवानपुरका ३८ वटा दुग्ध सहकारीहरुले अनुदान वितरण गर्ने अधिकृत बोहोराले बताउनुभयो । अहिले मकवानपुरको हेटौंडा उपमहानगरपालिकासँगै मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिकाले दुग्धमा प्राप्त अनुदान किसानहरुलाई वितरण गरिरहेको छ ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2020/06/104040545_683233759189103_4073507459260976029_n-1.jpg)
त्यस्तै साझेदारीमा बाख्रा अनुसन्धान विस्तार तथा विकास कार्यक्रम अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको महाचुनी कृषि सहकारीलाई र प्रगति व्यावसायिक बाख्रापालन किसान समूहलाई २५/२५ लाख अनुदान दिइने भएको छ । त्यस्तै प्रदेश सरकारले मकवानपुरका २ सहित १२ कृषि फार्महरुलाई २५/२५ लाखको दरले ३ करोड अनुदान दिन स्वीकृत गरेको छ । यसैगरी साझेदारीमा पशु आहार उद्योग स्थापना गर्न २ करोड बजेट छुट्टाइएको छ । चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी र काभ्रेको नेशनल भिजन मल्टी प्रपोज एग्रो एण्ड बायो फार्मलाई अनुदान दिने भनिए तापनि काभ्रेको नेशनलको सम्झौता नभएको निर्देशनालयको अधिकृत बोहोराले बताउनभयो । यता चितवन सहकारीले भने सम्झौता गरेर पशु आहार उद्योग स्थापनाको कार्य करिब ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले चौरी प्रजनन तथा श्रोत विकासको लागि दोलखाको एभरेष्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरलाई ५० लाख अनुदान दिने भएको छ । यस्तै रेन्वो ट्राउट माछा विस्तार गर्न मकवानपुरको बज्रबाराहिको समृद्ध नेपाल युवा समुह र भीमफेदीको स्वर्णभूमि बहुउद्देश्यीय कृषि फार्मलाई २०/२० लाख अनुदान दिन स्विकृत गरेको छ । मकवानपुरका २ सहित सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, रसुवा र नुवाकोटका ४० फर्म तथा सहकारीलाई ८ करोड रुपैयाँ अनुदान दिन लागिएको छ ।
साझेदारी बृहत्तर मत्स्य विकास तथा विस्तार कर्याक्रम अन्तर्गत मकवानपुरको हटियामा रहेको एजी कृषि फार्मलाई ४८ लाख अनुदान वितरण गरिएको छ । त्यस्तै मनहरीको दिगो कृषि सहकारी संस्थालाई १४ लाख ४० हजार, मनहरीकै मसिने एकीकृत कृषि फार्म, खड्क बहुउद्देश्यीय कृषि फार्म, समृद्धि एकीकृत कृषि फार्म, गोङ्वा कृषि तथा पशुपालन फार्म, हेटौंडा–१५ को शिखरपुर पशु तथा मत्स्य फार्म र हेटौंडा–१८ कोे रोज एग्रो वल्र्ड एण्ड रिसर्ज सेन्टर लगायतलाई ४ लाख ८० हजारका दरले अनुदान दिने भएको छ । यस्तै अन्य ४९ माछा फर्म, सहकारीलाई ७ करोड अनुदान दिन विनियोजन गरेकोमा धेरै सम्झौता भैसकेको छ भने केही बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
कालिज पालनका लागि मकवानपुरका आधुनिक पशुपन्छी तथा अर्गानिक कृषि फार्मलाई १० लाख, हिमालयन प्लान्टेशन प्रालिलाई अल्पका पालनका लागि ६ लाख, टर्की पालनका लागि जम्मभूमी एकीकृत कृषि फार्मलाई २ लाख, स्थानीय कुखुरा पालनका लागि खतिवडा बहुउद्देश्यीय कृषि फार्मलाई २ लाख, अनु एकीकृत कृषि फार्मलाई २ लाख, स्कार बहुउद्देश्यीय एग्रिकल्चर प्रालिलाई र शुभवन तथा कृषि फार्म प्रालिलाई २ लाखका दरले अनुदान दिने भएको हो । कतिपयले अनुदान लिइसकेका छन् भने केहीले बाँकी छ । कुल ५५ वटा कृषि फार्म तथा सहकारीहरुलाई कालिज पाल्न १ करोड ७० लाख, कुखुरा, हाँस, टर्की पालनका लागि ७४ लाख, अन्य पशुपन्छि पालनका ७ लाख गरेर २ करोड ५० लाख भन्दा बढी अनुदान वितरण चालु वर्षमा हुने भएको छ । यसैगरी सामूहिक गाईपालनका लागि दोलखाकै भालेढुंगा कृषि सहकारी र भिमसेन गाई पशुलपालन फर्मलाई १०/१० लाख अनुदान दिने दिन स्विकृत गरिएको छ ।
साझेदारीमा बंगुरपालनमा मकवानपुरको भीमफेदीस्थित भीमसेन साना किसान सहकारी संस्था र हेटौंडा–१३ को भवानी कृषि फार्मलाई ५/५ लाख अनुदान चालु वर्षमा वितरण हुने भएको हो । सिन्धुलीका २ र चितवनका ४ गरी ६ फार्महरुलाई ५ लाखका दरले ३० लाख अनुदान प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य निर्देशनालयले बाँड्ने भएको हो । बाँदर व्यवस्थापन गर्न काठमाडौं जिल्लाको ३ कृषि समुह र सिन्धुपाल्चोकका १ कृषक समूहलाई १०/१० लाखका दरले चालु वर्षमा अनुदान दिने भएको हो । त्यस्तै चालु वर्षमा चिलिङ सेन्टरमा लागि भ्याट र जेनरेटरको लागि मकवानपुरका हेटौंडा उपमहानगरपालिका १८ का साना किसान कृषि सहकारी, मनहरी गाउँपालिका–६ का संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था र मकवानपुरगढी–४ को कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थालाई ५ लाखको दरले अनुदान दिने भएको हो । त्यस्तै प्रदेशको काभ्रे, चितवन, ललितपुर का १० सहकारीलाई पनि ५ लाखका दरले ५० लाख अनुदानमा दिइने भएको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले छुट्टाछुट्टै कार्यविधि अनुसार अनुदान रकम वितरण गर्दै आएको छ । सरकारी अनुदानको सहि स्थानमा प्रयोग भए नभएको भन्ने अनुगमन खासै हुने गरेको छैन । स–साना किसान जसले कृषि फार्म दर्ता गरेका छैनन् उनीहरुले खासै ठुलो–सानो सरकारी अनुदान पाउँदैनन् । आगामी आर्थिक वर्षदेखि बागमती प्रदेश सरकारले उत्पादनमा आधारित दुधमा अनुदानको रकम बृद्धि गरेको छ । प्रतिलिटिर २ रुपैयाँ अनुदान दिने बजेटमा प्रदेशको अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभएको छ । यस्तै आगामी आर्थिक वर्षमा अनुदानमा भन्दा पनि सहुलियत कर्जा दिन प्रदेश सरकारले ३ अर्बको कोष स्थापना गर्ने भएको छ । किसानहरुलाई अनुदानमा रकम अति आवश्यकलाई बाँड्ने र अन्यलाई सहुलियतपूर्ण कर्जा दिने नीति प्रदेशको कृषि मन्त्रालयले लिएको छ ।