हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३, मक्रान्चुलीस्थित भानु माविको १२ कोठे विद्यालय भवनको शिलान्यास भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले सोमबार भवनको शिलान्यास गर्नुभएको हो ।
प्रदेश सरकारले उपलब्ध गराएको ५० लाखको बजेटमा भवन निर्माण सुरु गरिएको हो । भानु माविमा अहिले ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य पदाधिकारीको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको हो । भानु माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा नर्सरीदेखि १० कक्षासम्म पढाइ हुन्छ भने नेपाली माध्यममा १२ कक्षासम्म पढाइ हुन्छ । भानु माविमा ११ र १२ कक्षामा भने शिक्षाशास्त्र र व्यवस्थापन संकायका कक्षा संचालन भइरहेका छन् ।