एकता घोषणापछि राप्रपा मकवानपुरका नेताहरु ।

हेटौंडाः मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बीच समायोजन भएको छ । सोमबार दुवै पार्टी एक भएको राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले घोषणा गर्नुभएको छ । केन्द्रीय स्तरमा दुवै पार्टी एकता भएपछि ७७ जिल्लामा दुवै पार्टी समायोजन हुने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम मकवानपुरमा भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

पार्टी समायोजन घोषणामा राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा अनुशासन समितिका संयोजक नन्दरत्न स्थापित, निवर्तमान केन्द्रीय सदस्य रामहरी न्यौपानेलगायत दुवै पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । समायोजन गर्दा राप्रपाले अध्यक्षको पद पाएको छ भने उपाध्यक्ष पद राप्रपा संयुक्तका अध्यक्षले पाएका छन् । दुवै पार्टी समायोजन भएर मकवानपुरमा ८३ जनाको कार्यसमिति बनाइएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै राप्रपा संयुक्त मकवानपुरका अध्यक्ष ज्ञानु ढुंगेलले पार्टीको माइन्युट राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीलाई लाई हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि अध्यक्ष मधु अधिकारीले दुवै पार्टी एक भएको घोषणा गर्नुभयो । मकवानपुरमा दुवै पार्टी एक भएर एक दिन ठुलो शक्ति बन्ने विश्वास लिएको उहाँले बताउनुभयो । उहाँले अब राप्रपा देशको वैकल्पिक शक्ति हुने दावी गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले देशमा अहिलेको परिस्थतिमा सरकारले लकडाउन टोक्नु न बोक्नु बनेको बताउनुभयो । सरकारले सुरुवाती चरणमा नै कोरोनालाई नियन्त्रण गर्न चुकेको बताउनुहुँदै अहिले लकडाउन नखोल्दा अर्थतन्त्र चौपट हुने, खोल्दा कोरोना भयावह हुने अवस्था रहेको बताउनुभयो । सरकारले राम्रो व्यवस्थापन, तयारी गर्न नसक्दा कोरोना बढेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य राजाराम बर्तौलाले मुलुकलाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यसको परिपूर्तिका निमित्त पार्टी एकता गरिएको बताउनुभयो ।