यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को साधारण धारतर्फका परीक्षा सकिएको छ । विद्यार्थी जीवनकै महत्वपूर्ण मानिने एसईईको साधारणतर्फको परीक्षा शुक्रबार सकिएको हो । प्राविधिक र ग्रेडवृद्धितर्फका परीक्षा भने चैत २७ गतेसम्म सञ्चालन हुनेछ । यस वर्षको एसईई चैत १४ गतेबाट सुरु भएको थियो । एसईईमा देशभर ५ लाख ४ हजार ४१४ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । मकवानपुर जिल्लाबाट यस वर्षको एसईई दिन ६ हजार एक सय ५६ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । जिल्लाका एक सय ३८ विद्यालयबाट ५ हजार ९ सय ७८ जना विद्यार्थीले एसईई दिएका छन् । परीक्षा फारम भरेका मध्ये एक सय ७८ जनाले परीक्षा दिएनन् । मकवानपुर जिल्लामा २६ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरुले एसईई दिएका थिए । मकवानपुर जिल्लामा एसईई शान्तिपूर्ण र सौहार्द वातावरणमा सम्पन्न भएको छ । परीक्षामा कुनै पनि किसिमका अनुचित क्रियाकलाप भएनन् र परीक्षार्थी तथा निरीक्षकलाई कुनै कारबाही गर्नु परेन ।

एसईई सकिएसँगै केही महिनाका लागि देशभरका करिब ५ लाख विद्यार्थी फुर्सदिला भएका छन् । एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमा पु¥याएर परीक्षण गराई नतिजा सार्वजनिक गर्न करिब ३ महिना लाग्ने भएकाले एसईई दिएका विद्यार्थीले यो अवधिमा पढाइबाट फुर्सद पाउनेछन् । तर, एसईईपछि कक्षा ११ मा कुन विषय लिएर पढ्ने र कहाँ पढ्ने भन्ने चिन्ता तथा चासो विद्यार्थी र अभिभावकमा हुने गर्दछ । हाल कक्षा १२ सम्मलाई विद्यालय तहमा समावेश गरिए पनि कक्षा १० को एसईई पछि विद्यार्थीले उच्च शिक्षाको योजनाअनुसार आफ्नो पढाइलाई अगाडि बढाउने ग र्दछन् । साधारण धारतर्फका विद्यार्थीले कक्षा ११ मा अंग्रजी, नेपाली र सामाजिक वा गणित गरी ३ वटा विषय अनिवार्य अध्ययन गर्नुपर्छ । उनीहरुलाई कक्षा ११ मा विज्ञान, वाणिज्य, शिक्षा र मानविकीमध्ये कुनै एक क्षेत्रसँग सम्बन्धित थप ३ वटा विषय छनौट गरेर अध्ययन गर्ने सुविधा रहेको छ । प्राविधिक धारतर्फका विद्यार्थीले कक्षा ११ सोही धारका विषय वा अन्य विषय छनौट गरेर अध्ययन गर्न सक्नेछन् ।

एसईई दिएका विद्यार्थी तत्कालका लागि पढाइको चिन्ताबाट मुक्त भएका छन् । भविष्यमा कस्तो नतिजा आउला र के विषय पढ्ने होला भन्ने चिन्ता कायमै रहे पनि विद्यार्थीमा तत्कालका लागि पढाइ र परीक्षाको तनाव छैन । १० वर्षसम्म विद्यालय शिक्षा अध्ययन गरेका विद्यार्थी एसईईपछि थप दुई वर्ष अध्ययन गरेर विद्यालय शिक्षा पूरा गर्नै बाँकी छ । यसअर्थमा विद्यार्थीहरुले विद्यालय तहकै पढाइबाट छुटकारा पाइसकेका छैनन् । एसईईपछि कक्षा ११ र १२ कुनै राम्रो विद्यालय वा कलेजमा आफूले चाहेका विषय पढ्ने रहर जोकोही विद्यार्थीलाई हुन्छ । तर, राम्रो विद्यालय वा कलेज र राम्रो विषय अध्ययन गर्न एसईईमा नतिजा पनि राम्रै ल्याउनुपर्नेछ । राम्रो ग्रेड ल्याएर एसईई उत्तीर्ण गर्ने आशा र विश्वास भएका विद्यार्थीले भविष्यमा विज्ञान वा कुनै प्राविधिक विषय अध्ययनमा सहजताका लागि ब्रिजकोर्स वा अन्य तयारी कक्षामा सहभागी हुने गरेका छन् । केही विद्यार्थीले यो खाली समयमा विभिन्न रुचिगत र सीपमूलक तालिममा सहभागी हुने गरेका छन् । केही विद्यार्थी भने यो अवधिमा पढाइबाट टाढा नै बस्ने गरेका पाइन्छन् ।

एसईईको नतिजा नआउँदासम्मको करिब ३ महिना अवधिलाई विद्यार्थीहरुले समयसापेक्ष सदुपयोग गर्छन् भने केहीले दुरुपयोगसमेत गर्ने गरेका छन् । विद्यालय शिक्षाको एउटा तह पार भएको र पढाइबाट फुर्सदिलो भएका कारण यो अवधिमा विद्यार्थीहरु बरालिएर हिँड्ने वा कुलतमा फस्ने जोखिमसमेत रहन्छ । परीक्षाको नतिजाबारे अनावश्यक चिन्ता लिने वा उच्च महत्वकांक्षा लिएर अनावश्यकरुपमा हौसिने विद्यार्थीको भविष्य बिग्रन सक्नेतर्फ सचेत बन्नुपर्छ । एसईई दिएर बसेका सबै विद्यार्थीले यो समयलाई आराम गर्ने र केही नयाँ कुरा सिक्ने अवसरका रुपमा उपयोग गर्नु सान्दर्भिक हुनेछ । विद्यार्थीले अझै लामो शैक्षिक यात्रा तय गर्न बाँकी भएकाले यो समयमा आराम गरेर शारीरिक र मानसिकरुपमा भविष्यको सफल शैक्षिक यात्राका लागि तयार गर्नु उचित हुनेछ ।