बामगती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र खेल प्रवर्द्धनमा उल्लेख्य काम गरिरहेको छ । विभिन्न प्रकारका खेलकुदका प्रतियोगितासँगै प्रदेशका विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्दै आएको छ । पछिल्ला केही वर्षदेखि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्दै आएको बागमती प्रदेशले अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्न लागेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी आइतबार बाट प्रथम अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरेर परिषद्ले प्रतियोगिताको तयारीबारे जानकारी दिएको छ । परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले चैत २५ गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । परिषद्ले करिब १२ करोड रुपैयाँ खर्च गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीको सहभागिता रहनेछ । १० औं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौटको आधारसमेत हुने प्रतियोगितामा १ सय ३६ वटा स्वर्ण पदकका लागि ७ वटा प्रदेशका करिब १ हजार ५ सय ४७ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वर्ण, रजत र कास्यसहित ४ सय ५८ वटा पदक व्यवस्था गरिएको बताइएको छ । विभिन्न खेलकुद प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टिमले मजबुत प्रदर्शन गर्ने गरेका कारण खेलाडीहरु तिनै टिमप्रति आकर्षित हुने परिपाटीलाई रोक्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रतियोगिताले सबै प्रदेशका खेलाडीलाई प्रोत्साहन मिल्नुका साथै खेलाडी छनौट र खेलाडी उत्पादनमा थप टेवा पुग्ने दावी गरिएको छ । प्रतियोगिताको उद्घाटन चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा र समापन हेटौंडा–६ स्थित गौरीटार रंंगशालामा हुनेछ । ७ प्रदेशका खेलाडीहरुबीच ९ वटा विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्र्गत् पुरुष फुटबल हेटौंडाको गौरीटार रंगशालामा हुनेछ भने बाँकी ८ वटा खेलहरु भरतपुर महानगरपालिकामा हुनेछ ।

वि.सं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरेको हेटौंडामा ४० वर्षपछि प्रथम अन्तरप्रदेश खेलकुदको समापन कार्यक्रम हुन लागेको हो । प्रथम अन्तरनगर खेलकुद आयोजना भएको गौरीटार रंगशालामा प्रथम अन्तरप्रदेश खेलकुदको समापन पनि हुने भएको छ । यसबीचमा गौरीटार रंगशालामा पनि केही परिवर्तन भएको छ । २०४० सालमा रंगशाला भनिएको गौरीटारमा २०६६ सालमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणको शिलान्यास भएको थियो । तत्कालीन समयमा करिब ५ अर्ब खर्चेर ५ वर्षभित्र प्रतिष्ठान निर्माण पूरा गर्ने भनिए पनि संघीय सरकारले १० वर्षसम्म जम्मा ८ करोड रुपियाँ खर्चेर कम्पाउण्डवाल, छात्रावास, पानीट्याँकीलगायत केही संंरचना बनाएको थियो । त्यसपछि बागमती प्रदेश सरकारले रंगशाला निर्माणको कामलाई अघि बढाएर फुटबल मैदान, प्याराफिट, कभर्डहललगायत पूर्वाधार निर्माण गरिरहेको छ ।

देशको सामाजिक तथा आर्थिक विकासका लागि खेलकुदले पनि सहयोग गर्दछ । खेल क्षेत्रको विकासले प्रतिभावान खेलाडी जन्मन्छन् र उनीहरुबाट देशको ख्याति बढ्छ । खेलकुदमा सक्रिय सहभागिताले नागरिकको स्वास्थ्य अवस्थासमेत राम्रो हुन्छ । खेल क्षेत्रको विकासका लागि खेलकुद प्रतियोगिता र अभ्यासका लागि सुविधासम्पन्न पूर्वाधार आवश्यक हुन्छ । खेल क्षेत्रमा लाग्नेहरुले खेलेरै आफ्नो जीविकोपार्जन हुन सकेमा खेल क्षेत्रको विकास सहज हुन्छ । यसका लागि बागमती प्रदेश सरकारले आयोजना गर्दै आएको खेलकुद प्रतियोगिता, प्रशिक्षण कार्यक्रम र खेल पूर्वाधार विकासका कार्यहरुले अवश्य सहयोग गर्नेछ । प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई अझ बढी प्राथमिकता दिनसकेमा प्रदेशमा खेल क्षेत्रको विकास र प्रवर्द्धनमा थप सहयोग पुग्ने निश्चित छ ।