हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा ४ जना मन्त्री नियुक्त गर्नुुभएको छ । मंगलबार मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेबाट ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाले जानकारी दिनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एका लाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई आज साँझै शपथ खुवाउने तयारी गरिएको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो ।
यसअघि चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त हुनुभएको छ भने चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा नियुक्त भइसक्नुभएको छ ।