पत्रकार सम्मेलनमा आयोेजक ।

हेटौँडाः जगदम्बा स्टिल जीतपुर–सिमरा गोल्डकपको १४ औं संस्करण यही चैत्र २४ गतेदेखि शुरु हुने भएको छ । आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजनजागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।

सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागी हुनेछन् । सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर–११, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लबसहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदीयमान खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गत वर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको आयोजकले यस वर्ष पनि होटल तथा पर्यटन व्यवसायी संघ बारासँगको सहकार्यमा फुटलबसँगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिटसहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।