हेटौँडाः राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार हेटौँडामा प्रभातफेरी र प्रवचन कार्यक्रम भएको छ । बागमती प्रदेशस्तरीय सहकारी दिवस आयोजक मूल समारोह समितिको आयोजनामा हेटौँडा–१ स्थित रोप–वेको मैदानबाट सुरु भएको प्रभातफेरी हेटौँडा बजारको उद्योग वाणिज्य संघ चोक, बुद्धचोक, सीमाचोक हुँदै रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।
मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवाकोटाको अध्यक्षता तथा बागमती प्रदेश सरकारको पर्यटन, संस्कृति तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यमा सभाको आयोेजना गरिएको थियो । यस वर्ष राष्ट्रिय सहकारी दिवस “सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मूल नाराका साथ मनाइँदैछ ।
सहकारी दिवसको अवसरमा आज साँझ दीप प्रज्वलनको कार्यक्रम रहेको छ । यसअघि सहकारी दिवसको अवसरमा सहकारी शिक्षा कार्यक्रमको आयोजना गरिएको थियो । पछिल्लो समय सहकारीमा अनियमितताको विषयलाई लिएर आलोचना भइरहेको र त्यस्ता आलोचनाको प्रतिवाद गर्ने गरी सहकारी दिवस वृहतरुपमा मनाउने प्रयास भएको सहकारीकर्मीको भनाइ छ ।