हेटौँडा : मदन भण्डारी लोकमार्गको हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली बजारमा मोटरसाइकल दुर्घटना भएको छ । मंगलबार राती २ बजेको समयमा भएको दुर्घटनामा परी मोटरसाइकल चालक बकैया–४ का ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बकैया–३, हात्तिसुडेबाट हेटौँडा–१८, ठुलोदमारतर्फ आउँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल जुरेली बजारको घुम्तीमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा रुपकको टाउकोमा गम्भीर चोट लागेको थियो । रुपकलाई बकैया अस्पतालमै प्राथमिक उपचारपछि हेटौँडा अस्पताल पठाइएको थियो । बुधबार बिहान साढे ४ बजेको समयमा हेटौँडा अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले रुपकको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।