लोकतन्त्र विधिको शासन मात्र होईन यो नैतिक धरातलमा खडा भएको सुन्दरतम व्यवस्था हो । नैतिक मूल्य, मान्यतामा आधारित लोकतन्त्र अझ बढि जनउत्तरदायि रहन्छ । सबै विषय संवैधानिक व्यवस्था वा लोकतन्त्रले पूर्णता दिन असमर्थ हुन्छ त्यतिबेला कतिपय परम्परा नजिर अन्य उदाहरणले ति मुद्दाहरुलाई सम्बोधन गर्न सकिन्छ । राजनीतिमा नैतिक बल ठूलो शक्तिकोरुपमा रहन्छ अझ लोकतन्त्रमा नैतिकता झिकिदिने हो भने त्यो अराजक हुन्छ ।

नेपाल देशमा जस्तोसुकै ठूलो आरोप लागे पनि तिनले कानुनतः पुष्टि नहुन्जेल कुनै पदबाट राजिनामा गर्नुपर्ने चलन छैन । तात्कालिन एक आरोपित मन्त्रि नै झण्डा हल्लाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको दृश्य लज्जास्पद देखिएको थियो । बैदैशिक रोजगारजानेक्रममा हुलहुज्जत हुँदा प्रहरीको गोली प्रहारबाट दुई युवाको मृत्यु हुन्छ, मन्त्रीको गाडि घटनास्थलमा देखिँदा बढेको तनावले परिस्थिति नियन्त्रण बाहिर पुग्छ । त्यहाँ मन्त्रीको गाडि पनि तोडफोड हुन्छ दुई युवाको ज्यान लिईन्छ । यो घटनालाई लिएर बनेको आयोगले तात्कालिन मन्त्रि प्रकाश ज्वालालाई दोषी ठहर गर्छ । तर मन्त्रीले नैतिकताको आधारमा राजिनामा गर्दैनन् । संसदमा समेत राजिनामाको कुराउँठदा पनि मन्त्री टसकामस हल्लिदैन ।

अहिले सरकार परिवर्तन भयो । कांग्रेसले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । सहकारी ठगिमा गृहमन्त्री दोषी छ भन्ने कांग्रेसी आरोप छ । के रविले कांगेसको प्रधानमन्त्री बन्ने अफर स्विकार गरेको भए यिनलाई बचाउन कांग्रेस लाग्थ्यो ? जसरी अहिले प्रचण्ड रविलाई बचाउनका लागि मरिहत्ते गरिराखेका छन् । आफु अनुकूल र प्रतिकूलमा बनाईने दृष्टिकोणले सहज अनुमान लगाउन सकिन्छ कि हामीकहाँ नैतिकताको ठूलो खडेरी छ भनेर ।

हामीकहाँ हिजोसम्म सत्रु भनिएकाहरु भोलिपल्ट मित्रमा परिणत हुन्छ । कुनै कमरेडको नाम लिँदा पनि मूख कुल्ला गर्नुपर्छ भन्ने अर्को कमरेड पद र शक्ति प्राप्त हुने भएपछि त्यहि व्यक्तिलाई अङ्गालो मार्न उसैको निवास पुग्छन् । पद र शक्तिका लागि जोसँग पनि मिल्ने प्रवृत्तिले विचार रसिद्धान्त भन्ने चिज गौण हुन थाल्यो । बेलायतका मन्त्री माईकल बेट्सले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन संसद भवनमा एक मिनेट ढिलो पुग्दा नैतिकताका आधारमा राजिनामा दिएका उदाहरण ताजै छ । केशर बहादुर बिष्टले दशरथ रंगशालामा आँधि हुरीले भागाभाग भई ज्यान जाँदा मन्त्री पदबाट नैतिकताको आधारमा राजिनामा दिएको घटना आज पर्यन्त चर्चा गरिन्छ । तर आजका आरोपित मन्त्रीहरु शानका साथ झण्डा हल्लाएर हिँड्छन् । आरोपलाई प्रमाणित गर भन्दैनन् लत्याएर हिँड्छन् ।

त्यति मात्र होईन हामीकहाँ स्वार्थ बाझिएका मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने गरी मन्त्री नियुक्त हुन्छन् । ठेकदार सहरी विकासमन्त्री हुने, सहकारी ठगीको आरोपित गृहमन्त्री बनाइने हेर्दै अनैतिक देखिने यस्ता कार्यशैली हाम्रै देशमा मात्र देखिन्छ । लोकतन्त्र व्यक्तिको नैतिक बलमा आश्रित हुन्छ उसको पाशविक बलमा होईन, न कि गणितीय संख्यामा । देशमा भएका संवैधानिक अंग वा निकायहरुलाई दलका लाचार छाया बनाइँदा सुशासन माथि नै प्रश्न चिन्ह लाग्दै आएको छ ।

सत्तामा कतिन्जेल बस्ने, बस्दा जनताको पक्षमा प्रभावकारी काम गर्न सक्ने कि नसक्ने, आफुले नसक्दा चटक्क छोडिदिएर नयाँलाई काम गर्न दिने हामीकहाँ त्यो प्रचलन र प्रवृत्ति नै छैन । पदसँगै आर्यघाट जाने संस्कृतिले राजनीतिलाई प्रदूषित बनायो । अमेरिकी राष्ट्रपति जर्ज बुश, क्लिन्टन, ओबामा, ट्रम्प हुँदै वाईडन राष्ट्रपति छन् तर हामीले जर्ज बुशकै पाला देखेका शेरबहादुर, केपी, प्रचण्डहरु कहिल्यै फेरिँदैनन् । यस्तो किन हुन्छ ? यसमा दोष जनताको पनि छ निर्वाचन प्रणालीको पनि छ हाम्रो गरिबीको छ हाम्रो चेतनास्तरको पनि छ ।

भर्खर अबबल्ल जनता परिवर्तनको पक्षमा बिस्तारैदेखि नथालेका छन् । आफ्नो प्रस्ताव र कार्ययोजना लागु हुन नसक्दा आफु पछाडि हटिदिने प्रचलन संसारमै छ । भर्खर बेलायती प्रधानमन्त्री लिज ट्रस आर्थिक सुधारको नारासहित प्रम भए । आर्थिक सुधार हुने संकेत नदेखेपछि ४४ दिनमै राजिनामा दिएर बेलायती ईतिहासकै सबैभन्दा छोटो समयका लागि प्रम भए । हामीकहाँ शेरबहादुर ५ पटक प्रम भए । जनताले अनुभूति गर्ने वा देखिने केहि काम गरेनन् । अब फेरि छैठौं पटक प्रधानमन्त्री हुने दाउमा छन् । ज्योतिषले देउवालाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् रे ! यिनि १० पटक भए पनि हुनेवाला नयाँ केहि होईन । प्रचण्ड, केपि यि पनि पटक–पटक प्रम भए तर देश जहाँको त्यहिँ छ । देशको माया भएको भए यिनले नैतिकरुपमा छाडिदिनु पथ्र्यो । पदीय आशक्तिले यिजले अहिले पनि राजनीतिलाई जमेको फोहर पोखरी जस्तै बनाइराखेका छन् । दोश्रो पुस्ताका भन्ने नेताहरु यिनकै चाकडि र आफ्नो पद सुरक्षित बनाउन “बा” संस्कृतिलाई संरक्षण गरिराखेका छन् । अहिले देखिएका ठूला पार्टीको नेतृत्वबाट नयाँ पुस्ताको उदय हुने सम्भावना क्षीण छ ।

बरु नयाँ पार्टीबाट नयाँ नेतृत्व राष्ट्रिय राजनीतिमा देखा पर्दैछ । नयाँ पुस्ताको चाहना पुराना दल र नेताप्रति कम हँुदै गएको पछिल्लो राजननीतिक घटनाक्रमले देखाइरहेको छ । राजनीतिलाई मूल्यमा आधारित बनाउनु पर्दछ । अनैतिकहरुको भिड स्थायी हुँदैन । राजनीतिमा राम्रा मानिस आउनै पर्छ । एउटा भनाई छ, “राजनीतिमा राम्रा र असल मानिस नआउने हो भने स्वाभाविकरुपमा खराब मानिस आउँछन् तिनै खराब मानिसले चलाएको शासन भित्र असल मानिस पनि बस्नु पर्छ । तसर्थ ईमान्दार, असल, निष्ठा भएका व्यक्ति राजनीतिमा आवश्यक देखिएको छ । तर दुर्भाग्य नै भन्नुपर्छ हामीकहाँ ईमान्दार र असल मानिस राजनीतिमा टिक्नस क्दैनन् ।

राजनीतिको परिभाषा जन–सेवाबाट पैसा कमाउने व्यापार बन्दैछ । जबकि यो वस्तुतः निस्वार्थ सेवा भावना हो । बिडम्वना नै मान्नुपर्छ सत्ता/स्वार्थ मात्र केन्द्र भागमा देखिनु नेपाली राजनीतिको उदेकलाग्दो चित्र हो, अनैतिक मूल्य जहाँ विचार मर्छ, सिद्धान्तले आत्मदाह गर्छ, नैतिकता निरिह भएर टोलाउँछ, जहाँ मूल्य र मान्यता माथि सत्ताको घोडा दौडाईन्छ । तब कहाँ जान हिँडेको कहाँ पुगिन्छ, मूल्यहिनताको पराकाष्ठा प्रदूषित राजनीतिले आम मानिसमा घृणा उत्पन्न गराउनु मुलुकको हितमा किमार्थ देखिँदैन । त्यसैले बेलैमा घैँटौमा घाम लागोस् । अस्तू ।