हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको भनी निवेदन प्राप्त भएका २० वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । मंगलबार कार्यालयमा सम्बन्धित धनीलाई उपस्थित गराएर मोबाइलहरु वितरण गरिएको हो ।
प्रहरीले विभिन्न समयमा हराएको र चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका विभिन्न ब्राण्डका २० वटा स्मार्टफोन फेला पारेको हो । मोबाइल सम्बन्धित धनीलाई बुझाउनुहुँदै कार्यालयका प्रहरी निरीक्षक विक्रम खड्का मगरले पछिल्लो समय मोबाइल चोरी र हराएका घटनाहरु बढ्न थालेको बताउनुभयो । प्रविधिको प्रयोगसँगै विभिन्न घटना बढ्नु स्वभाविक भएकोे उहाँको भनाई छ ।
चोरीका घटना रोकथाम गर्न सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । आ–आफ्नो मोबाइल फोन पाएपछि मोबाइल धनीहरुले प्रहरीलाई धन्यवाद दिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चालु आर्थिक वर्षसम्म ५ सय २४ मोबाइल हराएको र चोरी भएको भनी निवेदन परेको छ । जसमध्ये हालसम्म १ सय ४२ मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको र बाँकीको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक मगरले बताउनुभयो ।