यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुन एक महिना बाँकी छ । आगामी चैत १५ गतेदेखि सुरु हुने एसईई परीक्षाका परीक्षार्थीहरु अहिले परीक्षाको तयारीमा जुटेका छन् । विद्यालयहरुले पनि विद्यार्थीको नतिजा उत्कृष्ट बनाउने उद्देश्यले नियमित पठनपाठनका साथै अतिरिक्त कक्षाहरु सञ्चालन गरिरहेका छन् । विद्यार्थी मूल्यांकनमा लेटर गे्रडिङ पद्दति सुरु भएपछि एसईई परीक्षाको नतिजा पनि सोहीअनुसार निकाल्न थालियो । परीक्षा दिने विद्यार्थीले न्यूनतम जीपीए १.६ प्राप्त गरेपछि कक्षा ११ अध्ययन गर्न पाउने भए, भलै उनीहरुले विषयगत ई ग्रेड नै ल्याएका किन नहुन् । यस्तो मूल्यांकन पद्दतिका कारण अधिकांश विद्यार्थीमा पठन संस्कृति कमजोर बन्दै गयो । तर, सरकारले लेटर ग्रेडिङ पद्दतिमा परिमार्जन गर्दै यस वर्षको एसईईको सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजामा ‘एनजी’ उल्लेख गर्ने भएको छ । यसले अब एसईईमा कुनै पनि विषयमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तीर्ण हुने र कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् ।

विगतमा कक्षा १० सम्मलाई विद्यालय शिक्षा मानिने र कक्षा १० को अन्तिममा लिइने परीक्षालाई एसएलसी भन्ने गरिन्थ्यो । यसकारण एसएलसीलाई विद्यार्थी जीवनकै सबैभन्दा चर्चित र महत्वपूर्ण परीक्षाको रुपमा लिने गरिएको थियो । एसएलसी परीक्षालाई ‘आइरन गेट’को उपमा दिने गरिएको थियो । एसएलसी उत्तीर्ण हुनु तथा बढी अङ्क ल्याउनुलाई प्रतिष्ठा र प्रगतिसँग जोडेर हेर्ने गरिएको थियो । तर, देशमा शिक्षाको विकास कमजोर रहेको अवस्थामा एसएलसी उत्तीर्ण गर्नुलाई निकै महत्वका साथ हेरिने भएका कारण यसको महत्व बढी रहेको भए पनि अहिले त्यस्तो छैन । अहिलेको एसईई भनेको मात्र १० कक्षा उत्तीर्ण भएर कक्षा ११ मा अध्ययन गर्न योग्य हुनु हो । तर, अझै पनि एसईईलाई विगतको एसएलसी परीक्षाजस्तै महत्व दिने गरिएको छ । यसले विद्यालय, अभिभावक, विद्यार्थी सबैलाई राम्रो नतिजा हासिल गर्ने दबाब हुने गरेको छ ।

नेपालमा एसएलसी परीक्षाको सुरुवात भएको ९० वर्ष भएको छ । वि.स. १९९० सालदेखि कक्षा १० को अन्तिममा लिइने परीक्षालाई एसएलसी भनिए पनि अहिले कक्षा १२ को अन्तिममा लिइने परीक्षा एसएलसी भएको छ । त्यसैले कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) भनिने गरिएको हो । अझ पनि कक्षा १२ को एसएलसीभन्दा कक्षा १० को एसईई परीक्षालाई नै सबैले उच्च महत्व दिने गरेका कारण यसको तयारीमा रहेका विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय सबैलाई पिरोलिरहेको छ । जसरी पनि विद्यार्थीको नतिजा उत्कृष्ट हुनु÷बनाउनुपर्ने दबाब पर्ने गरेको छ । एसईई नजिकिँदै जाँदा यसको तयारीमा सम्बद्ध सबै पक्ष जुटिरहेका छन् । विद्यालयहरुले एसईई पूर्वतयारी परीक्षा तथा साप्ताहिक परीक्षाहरु सञ्चालन गर्दै विद्यार्थीको सिकाई उपलब्धीको मूल्यांकन गरिरहेका छन् । विद्यार्थीहरु पनि नियमित पठनपाठनको अतिरिक्त कोचिङ तथा ट्युशन कक्षाहरुमा सहभागी भएर पढिरहेका छन् ।

कक्षा १० उत्तीर्ण भएर कक्षा ११ प्रवेशको योग्यता बनाउने एसईईलाई अनावश्यक हाउगुजी बनाइने परिपाटी उचित होइन । विगतमा उच्च शिक्षाको अवसर पर्याप्त नहुँदा र विद्यार्थीले उच्च शिक्षा हासिल गर्न नसक्दा एसएलसी परीक्षालाई महत्वपूर्ण मानिनु स्वभाविक थियो । अहिलेको एसईई उत्तीर्ण हुनु भनेको सामान्य साक्षर हुनुसरह हो । एसईईपछि पनि कक्षा १२ को एसएलसी उत्तीर्ण गरेर बल्ल विश्वविद्यालय तहमा प्रवेश पाइन्छ । विश्वविद्यालयअन्तर्गत्का कलेजहरुमा ४ वर्ष स्नातक तह र २ वर्ष स्नातकोत्तर अध्ययन गरेर वर्षेनि लाखौं विद्यार्थीले विशिष्ट डिग्री हासिल गरिरहेको अहिलको अवस्थामा एसईईलाई बढी महत्व दिनु उपयुक्त हुँदैन । तर, विद्यार्थीले हरेक परीक्षालाई उत्तिकै महत्व दिएर राम्रो अंक वा ग्रेडसहितको उच्चस्तरीय नतिजा हासिल गर्न पर्याप्त मिहिनेत गर्नुपर्छ । एसईईलाई सामान्य ठानेर यसको तयारी गरिरहेका विद्यार्थीले आफ्नो अनुकूलता र क्षमताअनुसार सामान्यरुपमा परीक्षाको तयारी गरेर ढुक्कसँग परीक्षा दिनु उचित हुनेछ ।