हेटौंडाः चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आज शनिबारबाट सुरु हुँदैछ । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले शनिबारदेखि मंगलबारसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
सिनेमा पर्यटनको अवधारणालाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले जानकारी दिनुभयो । नेपाली सिनेमामार्फत् स्थानीय ठाउँलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीको भनाइ छ ।
भेलामा देशभरका दुई सय पचास जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुने र सोहीअनुसार व्यवस्थापन पूरा गरिसकेको संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली चलचित्र उद्योगसम्बन्धी र चलचित्र पत्रकारिता क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछ । फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदामाथि छलफल हुनेछ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा बिट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचारसंहितामाथि छलफल गर्नेछ । बिज्ञापन बोर्डले अनलाइन व्यवस्थापकसम्बन्धी कार्यशाला आयोजना गर्नेछ ।
यस्तै, फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि विषयहरुमा संवाद र अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्रप्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।