हेटौंडाः नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा नारायणी ब्युरो इन्चार्ज एटम सीले देशमा राजनीतिक तथा शैक्षिक रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी मकवानपुरको आयोजनामा सोमबार हेटौंडामा भएको शैक्षिक व्यापारविरुद्ध हाम्रो आन्दोलन तथा समाज समाजवादी शिक्षा पाप्तिका लागि भएको २५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पोलिटब्युरो सदस्य एटमले यस्तो बताउनुभएको हो ।
अहिलेको समयमा राजनीतिको क्षेत्रमा सुधार हुन नसकेको उहाँले बताउनुभएको छ । पछिल्लो समयमा भ्रष्टाचारको काण्डहरु बढ्दै गएकाले सरकारले भुटानी शरणार्थीको माध्यमले पैसा खाएको उहाँले बताउनुभएको छ । पुँजीवादी समाजको माध्यमले गलत ढंगबाट पैसा कमाउने कार्यहरु बढ्दै गएको उहाँले बताउनुभयो । विद्यालय र क्याम्पस व्यापार तथा व्यवसायको रुपमा विकास भइरहेको उहाँले बताउनुभयो । अहिलेको समयमा विभिन्न विद्यालयहरुले विद्यार्थीहरुको शिक्षालाई भन्दा पनि बढी पैसालाई प्राथमिकता दिने गरेकोे उहाँको भनाइ छ ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि सबै विद्यालयका विद्यार्थीहरु एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । शिक्षा आर्थिक तथा व्यापारको क्षेत्रमा गएकाले शैक्षिक क्षेत्र कमजोर बन्दै गएको उहाँले बताउनुभयो । प्रगति र उन्नतिको परिवर्तन गर्नका लागि शिक्षा प्रणालीलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।
अहिलेको समयमा नेपालबाट शिक्षा लिएका मानिसहरु पैसाको अभावले गर्दा बढी मात्रामा विदेश जाने, आमाबुबालाई हेला गर्ने र आफ्नो दायित्व पूरा नगर्ने गरेको उहाँले दावी गर्नुभएको छ । शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुहुँदै अहिलेको बालबालिकाहरु बढी मात्रामा लागूपदार्थको दुव्यर्सनीमा पर्ने गरेको स्पष्ट पार्नुभयो ।
शैक्षिक तथा राजनीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि सबै राजनीतिक दलमा आवद्ध भएका व्यक्तिहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । स्वाधीनताको रक्षाका निम्ति भ्रष्टाचार, श्रम शोषणविरुद्ध सबैले आवाज उठाउनुपर्ने उहाँको भनाइ छ । नेपालमा भएको विभिन्न विकृतिलगायतका कार्यहरुको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको समयमा जनविरोधी, राष्ट्रविरोधीलगायतका समस्या विरुद्ध आवाज उठाउनुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य वाटर सीले नेपालको संविधानले दिएको अधिकारको अनुशासित ढंगबाट प्रयोग हुनुपर्ने बताउनुभएको छ । राजतन्त्रको समस्यालाई न्यूनीकरण गर्नका लागि विद्यार्थी संगठनले आवाज उठाएको उहाँले बताउनुभयो । शिक्षालाई भन्दा पनि बढी पैसालाई प्रथमिकता दिने शिक्षकहरुको बिरोध गर्नुपर्ने उहाँले बताउनुभयो । सबै मानिसहरुले आफ्नो हक र अधिकार प्राप्तिका लागि विद्यालयस्तरबाट नै आवाज उठाउनुपर्ने बताउनुभयो । घरायसी अवस्था कमजोर भएका कारणले पढ्न नपाउने विद्यार्थीहरुलाई शिक्षित बनाउनका लागि आफूले पनि सक्दो कार्यहरु गर्ने उहाँको भनाइ छ ।
सोमबार सम्पन्न भएको २५ औँ सम्मेलनबाट सुवास सीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा दीलमाया सी, सचिवमा आकाश सी, सह–सचिवमा अञ्जना सी र कोषाध्यक्षमा निर्मला सी सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल १ वर्षको हुनेछ । अखिल क्रान्तरीकारी पूर्वजिल्ला अध्यक्ष सूर्य सी को सभाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा नारायणी ब्युरोका इन्चार्ज एटम सीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो ।