हेटौंडाः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङलाई खेलकुदको सामग्री सहयोग गरेको छ । आइतबार वडा कार्यालयमा एक समारोहबीच सिद्धार्थ डोजाङलाई सामग्री सहयोग गरेको सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

तेक्वान्दो खेलमा आवश्यक पर्ने करिब २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ । चेस्टप्याड, किकिङ प्याड, हेल्मेट, लेगगार्डलगायत समाग्री सहयोग गरेको वडा अध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभयो । प्राप्त सामग्रीको प्रयोगबाट बालबालिकालाई नियमितरुपमा प्रशिक्षण तथा अभ्यास गर्न सहज हुने प्रशिक्षक युसुफ हुसेनले बताउनुभयो ।

सामग्री सहयोगपछि बालबालिकाको प्रशिक्षणमा थप सहयोग पुग्ने हुसेनले विश्वास व्यक्त गर्नुभएको छ । नियमित ३० जना बालबालिकाहरु प्रशिक्षणमा सहभागी हुने गरेको हुसेनको भनाइ छ । यही फागुन महिनाको दोस्रो हप्तासम्मा गे्रडिङ गराउन लागेको हुसेनले बताउनुभयो । प्रशिक्षक हुसेनले ३–३ महिनाको अवधिमा ग्रेडिङ गराउने गर्नुभएको छ ।

सामग्री वितरण कार्यक्रममा वडा सदस्य सुरज बर्तौला, जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, कोेषाध्यक्ष रवीन्द्र डंगोल, सहसचिव सुरसा ढुंगाना र तेक्वान्दो प्रशिक्षक हुसेनको पनि उपस्थिति रहेको थियो ।