बागमती प्रदेश सरकारको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेल ।

हेटौंडाः मुलुकका सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सोमबार सावर्जनिक गरेका छन् । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अन्य प्रदेशहरुले ३३ देखि ४० अर्बसम्मका बजेट प्रस्तुत गरेपनि बागमती प्रदेशले भने सबैभन्दा बढी ५१ अर्बको बजेट ल्याएको छ । आगामी वर्षका लागि प्रदेश १ ले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश २ सरकारले ३३ अर्ब ५६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ ।

बागमती प्रदेश सरकारका अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि सोमबार प्रदेश सभामा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले अगामी वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्षमा भन्दा बजेटलाई बढाएका सरकारले प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमान गरिएका खर्च जुटाउन प्रदेश सरकारले कर राजस्वतफबार्ट २० अर्ब ८३ करोड ७९ लाख, अन्तरसरकारी अनुदानतर्फ १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ अनुमानित ७ अर्ब ५० करोड प्राप्त हुने बताएको छ ।

बागमती प्रदेशले आगामी आर्थिक वर्षमा प्रदेशका ११९ स्थानीय तहलाई १ अर्ब २५ करोड वित्तीय समानीकरण अनुदान दिने भएको छ । प्रदेशको ११० स्थानीय तहबाट माग भएर आएको ३ सय ७ योजना तथा कार्यक्रमहरुलाई समपुरक अनुदान मार्फत २ अर्ब ६३ करोड छुट्टाइर्एको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा अस्पतालजन्य फोहोरमैलाको आधुनिक र उपयुक्त प्रक्रियाबाट विसर्जन, मृत शरीर व्यवस्थापनका शवगृहको व्यवस्था गर्न अस्पताललाई स्वच्छ, सफा र हराभरा राख्न तथा प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि ५६ करोड ३० लाख बजेट छुट्टाएको छ ।

प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहुँच विस्तार गर्न अस्पतालको सेवा भन्दा बाहिर रहेका २१ प्रादेशिक निर्वाचन क्षेत्र समेटिने गरी थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवासहितको अस्पताल संचालन सहयोगका लागि १२ करोड ८० लाख बजेट छुट्टाएको छ । यसैगरी एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम अन्तर्गत पहिचान भएका स्थानमा पाँच वटा उद्योग ग्रामको पुर्वाधार निर्माण गर्न र थप दश उद्योग ग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्ती कार्यका लागि ११ करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

प्रदेशको सन्तुलित विकास गर्न प्रदेश पूर्वाधार कार्यक्रम भनेर १ अर्ब ९८ करोड बजेट विनियोजन भएको प्रदेशका अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । त्यस्तै प्रदेशमा प्रहरी भवनहरु निर्माण गर्नका लागि ५५ करोड ६६ लाख बजेट विनियोजन भएको छ । विद्यालयहरुमा कक्षाकोठा एवम् छात्रावास निर्माण, घेरावारसहित भौतिक सवलीकरण एवम् पूर्वाधार विकास र विद्यालयमा सूचना प्रविधि ल्याब, स्मार्ट बोर्ड र विज्ञान प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारले ४४ करोड ८७ लाख बजेट छुट्टाएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोरोना संक्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समायोजन, छुट तथा सहुलियत प्रदान गर्ने जनाएको छ । यस्तै प्रदेश भित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई करका संरचना तथा दरहरुलाई समय सापेक्ष बनाउँदै कर–आधार फराकिलो बनाउने नीति लिएको छ । प्रदेश सरकारको राजस्वका सम्भाव्य स्रोतहरुको व्यापक खोजी गर्ने आगामी बजेटमा प्रदेश सरकारले उल्लेख गरेको छ ।