चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रोटरी क्लब अफ हेटौंडासँग सहकार्य गर्ने भएको छ । महालक्ष्मी बैंकको हेटौंडा शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीकाअनुसार यस वर्षको सहयोग अन्तर्गत हेटौंडा–११ स्थित आनन्दभैरव आधारभूत विद्यालयमा स्वच्छ खानेपानीको योजना स्वीकृत गरी कार्य अघि बढाइएको छ ।

संस्थागत सहकार्य अन्तर्गत बैंकले एकलाख ५० हजारको सहयोग मंगलबार एक कार्यक्रमका बीच रोटरी क्लब अफ हेटौंडालाई हस्तान्तरण गरेको छ । बैंकबाट प्राप्त सहयोगको चेक बुझ्दै, रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपालले बैंकको सहयोगमा रोटरीले आफ्नोतर्फबाट रकम थप गरी विद्यालयमा पानी शुद्धिकरण गर्ने उपकरण जडान गरिएको जानकारी दिनुभयो । खानेपानी योजनाका साथ रोटरी क्लबले विद्यार्थीका लागि आवश्यक डेक्स, बेन्चसमेत सहयोग गर्न लागेको उक्त परियोजनाका संयोजक तथा रोटरी क्लब अफ हेटौंडाका उपाध्यक्ष सुयशराज पराजुलीले बताउनु भयो ।

रोटरी क्लबले देशव्यापी रुपमा सञ्चालन गरेको ‘रोटरी नेपाल लिट्रेसी मिसन’ कार्यक्रममा महालक्ष्मी विकास बैंकले लागत सहभागितामा योजनाहरु स्वीकृत गरेको छ । यस अन्तर्गत बैंकसँगको सहकार्यमा रोटरी क्लब अफ हेटौंडाको सहकार्यमा उक्त विद्यालयमा आगामी पाँच वर्षसम्म विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरु गरिने क्बलका सर्भिस प्रोजेक्ट डाइरेक्टर अर्जुन सुवेदीले जानकारी दिनुभयो । रोटरी क्लबले छनौट गरेको विद्यालयमा आगामी पाँच वर्षसम्म विद्यालयको आवश्यकता अनुरुपका सहयोग उपलब्ध गराइने गरी बैंकसँग सम्झौता भएको समेत सुवेदीले जानकारी दिनुभयो । बैंकले उपलब्ध गराउने सहयोगमा क्लबको तर्फबाट लागत सहभागिता जनाई शिक्षा क्षेत्रको विकास र स्तरोन्नतिमा आवश्यक सहयोग गरिने उहाँले बताउनु भयो ।