सभापति पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँ

हेटौंडाः बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को वजेट माथि मंगलबार प्रदेश सभामा छलफल सुरु भएको छ । प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको बजेटले निमुखा जनताको समस्यालाई नसमेटेको भन्दै प्रदेश सभा सदस्यहरुले आलोचना गरेका छन् । प्रदेशले अनावश्यक क्षेत्रमा वजेट विनियोजन गरेको तर रोग र भोगमा पिल्सिएका जनताको मलम पट्टी बन्न नसकेको प्रदेश सभा सदस्यले आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेट हावादारी भएको बताउनुभयो । कोभिड–१९ को संक्रमणले सबैक्षेत्र प्रभावित भएका बेला ३० अर्बको बजेट बन्नुपर्नेमा ५१ अर्ब रुपैयाँको हावादारी बजेट प्रस्तुत भएको नेता बानियाँले आरोप लगाउनुभयो । बजेट भरोसा गर्न लायक नभएको पनि उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य रमेश पौडेलले प्रदेश सरकारले ल्याएको यो तेस्रो पटकको बजेट अग्रगमन होइन पश्चगमनतर्फ जाने बताउनुभयो । उहाँले प्रदेश सरकारले गएको आर्थिक वर्षहरुको कामको समिक्षा नगरेको भन्दै प्रदेश सभा सदस्यलाई ३/३ करोड बजेट छुट्याएर समाजवादको छोटो बाटो अपनाएको बताउनुभयो ।

प्रदेश सभा सदस्य डा. राजाराम कार्कीले प्रदेश सरकारको वजेटले ग्रामीण क्षेत्रका जनतालाई नसमेटेको बताउनुभयो । उहाँले ग्रामिण जनता, गरिबी र पर्यटन क्षेत्रलाई महत्व दिएर बजेट ल्याउनु पर्ने सुझाव दिँदै बजेटमा कत्तिपनि व्यवहारिकता नभएर नारा र भाषणमा सीमित भएको औँल्याउनुभयो । त्यस्तै प्रदेश सभा सदस्य पशुपति चौलागाईले बहुवर्षीय योजनाहरुमा धेरै बजेट हाल्नुपर्ने भन्दै सुगम र दुर्गम क्षेत्रलाई हेरेर वजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले बागमती प्रदेश देशकै धेरै जनसंख्या भएको प्रदेश भएकोले प्रदेशले खाद्यान्न, तरकारी, फलफुल, दुध र माछा मासुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसाईले बजेट सरकारले नभएर शासकको छोटे राजाले तयार पारेको बताउँदै वजेट ल्याउनु कुनै ठुलो कुरा नभएको र प्रदेशमा कति परिवर्तन भयो भनेर हेर्नु महत्वपुर्ण कुरा भएको बताउनुभयो । उहाँले कोरोनाको कहरमा छौं भनेर बहानाबाजी गर्ने छुट प्रदेश सरकारलाई नभएको भन्दै प्रदेश सरकारले विपदको बेलामा विवेक देखाउन नसकेर निमुखा जनतालाई निरास पारेको ठोकुवा गर्नुभयो । उहाँले कम्युनिष्टहरुले धेरैले समाजबादको भाषण गर्दा समाजवाद साइज र सेप बिग्रेको टोपी भएको जीकिर गर्नुभयो । सरकारको गतिविधि भाषणले होइन व्यवहारले जनताले बुझिरहेको भन्दै उहाँले प्रदेश सरकारले ल्याएको बजेट कत्तिपनि स्वागतयोग्य नभएको बताउनुभयो ।

प्रदेश सभा सदस्य केशव स्थापितले प्रदेश सरकारको बजेट दृष्टि भएको तर कोण नभएको भन्दै आलोचना गर्दै कोण मिलाउन सुझाव दिनुभयो । त्यस्तै प्रदेश सभा सदस्य गीता वाग्लेले नेकपाको एक सांसदले प्रदेशको बजेट फुलको आँखामा फुलै संसार भन्ने भनाइलाई खण्डन गर्दै बजेट खल्ति न सल्तिको दौरा भएको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई उद्योग र कलकारखाना खोलेर बेरोजगारीलाई रोजगार दिन आग्रह गर्नुभयो ।

प्रदेश सभाको वजेटमाथिको छलफलमा बोल्दै प्रदेश सभा सदस्य रिता माझीले प्रदेश सरकार कोरोना रोकथाम र क्वारेन्टाइन व्यवस्थापनमा नै चुकेको र यस विषयमा बजेटमा कुनै व्यवस्था नगरिएकोमा खेद व्यक्त गर्नुभयो । उहाँले यस वजेटले जनताको भोकलाई शोकमा परिणत गर्ने बताउनुभयो । प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले भने प्रदेश सरकारले बुद्धि र विवेकलाई प्रयोग गरेर दुरदृष्टि बोकेको बजेट ल्याएको दावी गर्नुभयो । प्रदेश सभा सदस्य कृष्णलाल भँडेलले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट जनमुखी नभएर नारामुखी भएको भन्दै कुनै लक्ष्यविहिन र परम्परावादी बजेट ल्याएको आरोप लगाउनुभयो । प्रदेश सभा सदस्य सीता लामाले पीडामा परेका श्रमिकहरुलाई बजेटले नसमेटेको बताउनुभयो ।

प्रदेश सभा सदस्य रिना गुरुङले सातै वटा प्रदेश मध्ये काम नलाग्ने बजेट आएको दावी गर्नुभयो । प्रदेश सभा सदस्य शोभा शाक्यले बजेटले जनताको रोग र भोकलाई समेट्न पर्ने र सम्पुर्ण व्यवसायीलाई विशेष व्यवस्था मिलाउन सुझाव दिनुभयो । प्रदेश सभा सदस्य ओम ग्लानले बजेट रोगी भएको जीकिर गर्नुभयो । उहाँले किसानलाई मल उपलब्ध गराउन वैकल्पिक बाटो खोज्नुपर्नेमा जोड दिँदै मकवानपुरको राक्सिराङको परेवा भिरमा बाटो नभएकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो ।