कोइला अभावमा बन्द भएको हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको ४ महिनापछि पुनः सञ्चालनमा आएको हो । दशैंपछि बन्द भएको उद्योग सञ्चालनमा आए पनि फेरि बन्द हुनसक्ने देखिएको छ । उद्योग सञ्चालनका लागि अति आवश्यक पर्ने कोइला पर्याप्त स्टक नभएका कारण उद्योग पुनः बन्द हुनसक्ने सम्भावना देखिएको हो । उद्योगमा १५ दिनलाई मात्र पुग्ने एक हजार टनमात्र कोइला रहेका कारण १५ दिनपछि के हुन्छ भन्ने निश्चितता छैन । उद्योगले कोइला मगाइराखेको भने पनि समयमा कोइला नआए उद्योगमा उत्पादन बन्द हुने निश्चित रहेको बताइएको छ । पछिल्ला ४ वर्षदेखि निरन्तर घाटामा चलिरहेको उद्योगले पर्याप्त कोइला भण्डारण गर्न नसक्दा उद्योग बन्दको शृंखला दोहोरिने सम्भावना देखिएको छ ।

सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभाव देखाउँदै उद्योगले समयसमयमा उत्पादन कार्य ठप्प गर्दै आएको छ । विगतमा पनि मेशिनमा समस्या आएर, कोइला तथा अन्य कच्र्चा पदार्थको आपूर्ति व्यवस्थापन गर्न नसकेर तथा अन्य समस्या देखाएर बारम्बार उद्योग बन्द हुँदै आएको थियो । पूर्ण क्षमतामा उद्योग सञ्चालन नहुँदा र बारम्बार उद्योग बन्द हुँदा उद्योग निरन्तर घाटामा गइरहेको छ । आर्थिक वर्ष २०७२/०७३ देखि लगातार तीन वर्षसम्म क्रमशः ३०, २२ र २३ करोड रुपैयाँ नाफा गरेको उद्योगले आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म ६५ करोड ४७ लाख रुपैयाँ घाटा बेहोरेको छ । अघिल्लो आर्थिक वर्षमा मात्र उद्योगको नोक्सानी २३ करोड ५५ लाख रुपैयाँ रहेको छ । कर्मचारी धेरै हुनु, पुरानो प्रविधि र मेशिनको प्रयोग भइरहनु, बजारमा प्रतिस्पर्धा बढ्नु, मूल्य समायोजन गर्न नसक्नुजस्ता समस्याले उद्योग घाटामा गएको बताउने गरिएको छ । १९३ जना स्थायी कर्मचारी र एक सयभन्दा बढी दैनिक ज्यालादारीका कामदार÷कर्मचारी रहेको उद्योगमा चरम राजनीतिक हस्तक्षेप हुने गरेका कारण उद्योगले थुप्रै समस्या बेहोर्दै आएको छ ।

कुनै समय गुणस्तरीय सिमेन्ट उत्पादनमा कहलिएको र उत्पादित सिमेन्ट खरिद र प्रयोग गर्न पालो कुरेर बस्नुपर्ने हेटौंडा सिमेन्ट उद्योग पछिल्लो समय धराशायी बनेको छ । अहिले उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री गर्नसमेत धौ–धौ पर्ने गरेको छ । उद्योग घाटामा जानुको मुख्य कारण कुशल र सक्षम व्यवस्थापनको अभाव एवम् राजनीतिक हस्तक्षेप नै हो । अर्कोतर्फ पुरानो प्रविधि र उपकरणले अहिलको प्रतिस्पर्धा सामना गर्न नसक्नुले पनि उद्योगमा समस्या भएको छ । ४ महिनासम्म उद्योगमा उत्पादन ठप्प भएका कारण चालु आर्थिक वर्षमा उद्योगको घाटा अझ बढ्ने निश्चित छ । उद्योग सञ्चालनमा ल्याउन मजदुर संगठनले समेत दबाब दिएपछि १५ दिनलाई पुग्ने कोइलाको व्यवस्था गरेर सिमेन्ट उत्पादन सुरु गरिए पनि १५ दिनपछि के हुने भन्ने अनिश्चितता कायमै छ ।

हेटौंडा सिमेन्ट उद्योगमा सरकारको पूर्ण लगानी रहेका कारण उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने जिम्मेवारी पनि सरकारकै हुन्छ । तर, सरकार र सम्बद्ध मन्त्रीले यस्ता उद्योगबाट राजनीतिक लाभ लिन खोज्ने परिपाटीले सरकारी लगानीका सबैजसो उद्योग धराशायी बन्ने गरेको छ । सञ्चालनमा आएको सिमेन्ट उद्योगमा बन्दको शृंखला दोहोरिन दिनुहुँदैन । तर, अहिलेकै अवस्था रहँदासम्म सिमेन्ट उद्योग निरन्तर सञ्चालन गर्न सहज पनि छैन । उद्योगको पुरानो प्रविधि र उपकरण परिवर्तन गरेर व्यवस्थापनलाई सरकारी/राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नु आवश्यक छ । अनावश्यक कर्मचारी कटौती गरेर कर्मचारीलाई जवाफदेही बनाउने र सक्षम व्यक्तिलाई व्यवस्थापनको जिम्मा दिने हो भने सिमेन्ट उद्योग बन्दको शृंखला अन्त्य गर्नुका साथै नाफामा लैजान असम्भव पनि छैन ।