हेटौंडाः मकवानपुरका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ महिनामा ३२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो ६ महिनाको अवधिमा विभिन्न घटनामा ३२ जनाको ज्यान गएको हो ।
साना–ठूला गरी १ सय १० घटनामा १ सय ४४ वटा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा ५० जना मानिस गम्भीर घाइते भएका थिए भने १८२ जना मानिस सामान्य घाइते भएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा ट्रक २ वटा, जिप एउटा, मोटरसाइकल ९ वटा र अन्य एउटा गरी १३ वटा सवारी दुर्घटना भएको थियो । जसमा ३ जना पुरुषको मृत्यु भएको थियो । साउनमा ४ जना पुरुष गम्भीर घाइते भएका थिए भने ५ जना पुरुष, एक जना बालक एक जना बालिका गरी ७ जना सामान्य घाइते भएका थिए ।
भदौ महिनामा १४ वटा सवारी दुर्घटना भएको थियो । ट्रक ४ वटा, जिप २ वटा, मोटरसाइकल ७ वटा गरी १४ वटा सवारी दुर्घटना भएको हो । जसमा एक जना पुरुषको मृत्यु भएको थियो, भने ३ जना पुरुष र एक जना महिला गरी ४ गम्भिर घाइते भएका थिए । भदौमा भएको सवारी दुर्घटनामा ११ जना पुरुष र एक जना महिला गरी १२ जना सामान्य घाइते भएका थिए । असोज महिनामा ट्रक ५ वटा, ट्रिपर एउटा, बस एउटा, जिप ३ वटा, मोटरसाइकल ९ वटा र ट्याक्टर २ वटा, टेम्पो २ वटा र अन्य एउटा गरी २४ वटा सवारी दुर्घटना भएको थियो । जसमा ५ जना पुरुष र एक महिलाको मृत्यु भएको थियो, भने ८ जना पुरुष, २ जना महिला र एक बालिका गरी ११ जना गम्भीर घाइते भएका थिए । असोजमा सवारी दुर्घटनामा परी १६ जना पुरुष, १० जना महिला, ५ जना बालक र २ जना बालिका गरी ३३ जना सामान्य घाइते भएका थिए ।
यस्तै, कात्तिक महिनामा ट्रक ३ वटा, बस ३ वटा, जिप ५ वटा, मोटरसाइकल १८ वटा, टेम्पो ४ वटा र अन्य एउटा गरी ३४ वटा सवारी दुर्घटना भएको थियो । जसमा ६ जना पुरुष र एक महिलाको मृत्यु भएको थियो, भने १० जना पुरुष, ८ जना महिला, एक बालक र २ बालिका गरी २१ जना गम्भीर घाइते भएका थिए । उक्त महिनामा ३४ जना पुरुष, २५ जना महिला, ५ जना बालक, ९ जना बालिका गरी ७३ जना सामान्य घाइते भएका थिए । मंसिर महिनामा ट्रक २ वटा, बस ३ वटा, जिप ४ वटा, मोटरसाइकल १५ वटा र ट्याक्टर २ वटा, टेम्पो एउटा र अन्य एउटा गरी २८ वटा सवारी दुर्घटना भएको थियो । जसमा ५ जना पुरुष, ५ जना महिला, एक बालक र एक बालिका गरी १२ जनाको मृत्यु भएको थियो भने, ३ जना पुरुष, एक महिला, एक बालक र एक बालिका गरी ६ जना गम्भीर घाइते भएका थिए । मंसिर महिनामा सवारी दुर्घटनामा १३ जना पुरुष, ३ जना महिला, एक जना बालक र एक जना बालिका गरी १८ जना सामान्य घाइते भएका थिए । पुस महिनामा ट्रक ३ वटा, ट्रिपर ३ वटा, जिप २ वटा, मोटरसाइकल १९ वटा र ट्याक्टर एउटा र टेम्पो एउटा गरी २९ वटा सवारी दुर्घटना भएको थियो । जसमा ३ जना पुरुषको मृत्यु भएको थियो, भने ४ जना पुरुष गम्भीर घाइते भएका थिए । पुस महिनामा भएको सवारी दुर्घटनामा २० जना पुरुष, ६ जना महिला, १० जना बालक र ३ जना बालिका गरी ३९ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०७८–०७९ को पुस मसान्तसम्म २ सय ९ वटा सवारी साधन दुर्घटना भएकोमा २९ जनाको मृत्यु भएको थियो । एक सय १ जना मानिस गम्भीर घाइते भएका थिए भने २ सय ५४ जना मानिस सामान्य घाइते भएका थिए । गत आर्थिक वर्ष २०७९–०८० को पुस मसान्तसम्म एक सय ६६ वटा सवारी साधन दुर्घटना भएकोमा ३२ जनाको मृत्यु भएको थियो । एक सय २३ जना मानिस गम्भीर घाइते भएका थिए भने एक सय ९८ जना मानिस सामान्य घाइते भएका थिए । समग्रमा हेर्दा ३ वर्षको विवरणमा सवारी दुर्घटना, दुर्घटनामा मृत्यु हुने मानिसको संख्या उस्तै नै देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना खासै घटेको छैन । मोटरसाइकल सबैभन्दा धेरै दुर्घटना हुने साधनमा परेको छ । मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदा धैरै दुर्घटना हुने गरेको प्रहरीको दाबी छ ।