हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माविकी शिक्षक संगीता कुमारी पुडासैनीले गोकुल–बागेश्वरी सम्मान प्राप्त गर्नुभएको छ । विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सोमबार नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर पुडासैनीलाई सम्मानपत्र प्रदान गरिएको छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पुडासैनीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । हेटौँडा–५ निवासी पुडासैनी मावि तहको गणित विषयको शिक्षक हुनुहुन्छ । २०७१ सालमा स्थायी नियुक्ति प्राप्त गरेदेखि सिद्धार्थ माविमै कार्यरत हुनुहुन्छ । गोकुल–बागेश्वरी सम्मान प्राप्त गर्ने पुडासैनी पहिलो शिक्षक हुनुहुन्छ ।
सिद्धार्थ माविका पूर्व प्रधानाध्यापक गोकुललाल श्रेष्ठले सम्मानका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषमा ३ लाख रुपैयाँ रहेको सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । पूर्वप्रधानाध्यापक श्रेष्ठले अक्षयकोषमा पाँच लाख रुपैयाँ पुर्याएर हरेक बर्ष उत्कृष्ट शिक्षकलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने बताउनुभएको छ । श्रेष्ठले आफू र आफ्नो श्रीमतिको नाममा गोकुल–बागेश्वरी सम्मान प्रदान गर्न अक्षयकोष स्थापना गर्नुभएको हो ।
आकर्षक राशीसहितको सम्मानले शिक्षकबीच राम्रो काम गर्ने प्रतिस्पर्धाको भावना बढाएको प्रधानाध्यापक शर्माले बताउनुभएको छ । अक्षयकोषको खाता विद्यालय प्रधानाध्यापक र अक्षकोषका संस्थापक गोकुललाल श्रेष्ठको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने व्यवस्था गरिएको छ । गोकुललाल श्रेष्ठ २०६६ सालमा सेवानिवृत्त हुनुभएको हो ।
यस्तै विद्यालयले वार्षिकोत्सवको अवसरमा शिक्षक अम्बिका प्याकुरेललाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरेको छ भने कर्मचारी शोभा श्रेष्ठलाई नगद तीन हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । विद्यालयले शैक्षिक उपलब्धीका आधारमा शिक्षकलाई विषयगत आधारमा पनि पुरस्कृत गरेको छ ।