अक्षयकोषमा १५ हजार रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविको अक्षयकोषमा स्थानीय सुसा श्रेष्ठले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । आइतबार दिउँसो विद्यालयमै पुगेर श्रेष्ठले अक्षयकोषमा राख्ने गरी चेक हस्तान्तरण गर्नुभएको छ । विद्यालयले एक करोड रुपैयाँ बराबरको अक्षयकोष बनाउने लक्ष्यसहित सहयोग संकलनको कार्य सुरु गरेको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले बताउनुभएको छ ।

विद्यालयले आफ्नो पहलमा अक्षयकोषमा पाँच लाख रुपैयाँ रकम जम्मा गरेपछि वडा कार्यालयले पाँच लाख रुपैयाँ थप गरिदिने जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले सबैको साथ र सहयोगमा विद्यालयलाई व्यवस्थित र गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोको रुपमा विकसित गरिने बताउनुभएको छ । प्रधानाध्यापक श्रीराम दाहालले अक्षयकोषका लागि नियमितरुपमा सहयोग प्राप्त हुने क्रम जारी रहेको बताउनुभएको छ ।