हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिकाका खेलाडीहरुलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमबीच मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा प्रथम हुने २४ जना खेलाडीलाई बकैया खेलकुद विकास समिति र गाउँपालिकाको सहकार्यमा सम्मान गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई ९० हजार रुपैयाँ बराबरको ट्रयाकसुट र मायाको चिनो कार्यपालिकाको सदस्यहरुबाट प्रदान गरिएको छ । आफ्नो ठाउँको खेलाडीहरुलाई प्रोत्साहन दिने र खेलाडीहरुको मनोबल वृद्धि गर्ने उद्देश्यले सम्मान गरेको बताइएको छ । यसअघि जिल्ला लिग प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुलाई १ हजार रुपैयाँको दरले नगद प्रदान गरिएको थियो ।
बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङको सभाध्यक्ष तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत भक्तबहादुर खत्री र १२ वटा वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष लामिछानेले पालिकाका खेलाडीहरुलाई खेलकुदको माध्यमबाट चर्चित बनाउन सामग्री सहयोग गरेको बताउनुभयो । जिल्ला लिग प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई धन्यवाद व्यक्त गर्दै आउने दिनहरुमा खेल क्षेत्रमा अझ बढी बजेट विनियोजन गर्ने बताउनुभयो ।