हेटौंडाः हेटौंडा अस्पतालको डेन्टल ओपीडीमा जाडो मौसम सुरु भएपछि दाँतका समस्या भएका बिरामी जचाउन आउने क्रम कम भएको छ । दाँत रोगका लागि कुनै मौसम नभएता पनि अस्पतालमा दन्त विभागमा एक महिनादेखि बिरामीको चाप कम भएको डेन्टल विभागका सहायक नवराज बर्तौलाले जानकारी दिनुभयो ।

विभागमा दाँत दुख्ने तथा दाँत झन्झनाउने समस्याले धेरै बिरामी आउने गरेका छन् । यस्तै, अस्पतालले दाँतको एक्सरे, दाँत निकाल्ने, दाँत सफा गर्ने, ओठको सानो प्रोसेसर, शल्यक्रियालगायत सेवा दिने गरेको छ । दन्त विभागमा दैनिक ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।

बर्तौलाका अनुसार अहिले बिरामीमा जागरुकता आएको छ । अस्पतालको दन्त विभागमा २ वटा दाँत जाँच गर्ने मेशिन थप भएको छ । अहिले विभागमा ४ वटा दन्त मेशिन रहेको उहाँले जानकारी दिनुभयो । मेशिन थप भएका कारण बिरामीले धेरै कुर्नु नपरेको बर्तौला बताउनुहुन्छ । दाँत देखाउन आउने बालबालिका डराएर नमानेपछि जाँच गर्न गाह्रो हुने उहाँले बताउनुभयो ।

दाँतको समस्याबाट बच्न खाना खाएपछि मुख कुल्ला गरेर दाँत माझ्नुपर्ने बर्र्ताैलाले जानकारी दिनुभयो । दाँत संवेदनशील हुने हुँदा धेरै चिसो तथा धेरै तातो खानेकुरा खाए दाँत खिइने समस्या देखिने गर्दछ । केही बिरामीहरु दाँत धेरै दुखेपछि मात्र जँचाउन जाने गरेका कारण उपचार जटिल हुने उहाँको भनाइ छ । अन्तिम समयमा मात्र जँचाउन जाने गर्दा दाँत निकाल्नै पर्ने अवस्था हुने गरेको बर्तौलाले बताउनुभयो ।

अस्पतालमा जाँच गर्न आएका बिरामीहरु ढिलो आउने गरेकाले एन्टिबाइटिक दिनैपर्ने तथा धेरै जटिल भए दाँत निकाल्नैपर्ने बर्तौलाले बताउनुभयो । विभागले किराले खाएको दाँतलाई सफा गर्ने र भरेर पठाउने गरेको छ । किराले दाँतको नशामा छोएपछि दाँत दुख्नेजस्ता समस्या देखिने उहाँको भनाइ छ ।

अस्पतालको दन्त विभागले महिनामा ९–१० जनाको दन्त शल्यक्रिया गर्ने गरेको बर्तौलाले बताउनुभयो । हेटौंडा अस्पतालको डेन्टल विभागबाट प्रमुख डा. अस्मित पोखरेल, डा. रञ्जना शाह, डा. पदम न्यौपाने र डा. अनिसा सापकोटाले सेवाग्राहीलाई सेवा दिने गरेका छन् । डाक्टरका साथै विभागमा २ जना स्वच्छतावादीले सेवा दिइरहनु भएको छ । बर्तौलाका अनुसार सेवाग्राहीहरु पुनः जाँच गर्नसमेत आउने गरेका छन् ।