प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन दिने घरदैलो अभियान सोमबार सम्पन्न गरेको छ । तीन दिने अभियान सामान्यतः एउटा स्वभाविक राजनीतिक अभ्यास मात्रै हो । गत वर्ष भएको निर्वाचनमा अनपेक्षित नतीजा हासिल गरेको रास्वपाले छोटो अवधिमै सरकारमा रहेर काम गर्ने अवसर समेत पायो भने अहिले सत्ता बाहिर रास्वपाले संसदमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने प्रयास गरिरहेको छ । यसबीचमा निर्वाचन भएको एक वर्ष पूरा भएको अवसरलाई जनताको घरदैलोमा पुगेर जनताकै कुरा सुन्ने प्रयास एक हिसाबले सकारात्मक मान्न सकिन्छ ।

सधैं नेता, कार्यकर्ताको भाषण सुनेर, अर्ती–उपदेश सुनेर दिक्क भएका नागरिकलाई भेटेर रास्वपाका नेता, कार्यकर्ताले आफू र आफ्नो पार्टी जनताप्रति जवाफदेही र जिम्मेवार भएको देखाउने प्रयास गरिरहेको स्पष्ट हुन्छ । रास्वपाको घरदैलो अभियान सामान्यतः जिम्मेवार र जवाफदेही दलकै एउटा नियमित काम हो । तर, निर्वाचनको वार्षिकोत्सवको अवसर पारेर जनताको घरदैलो गर्नुपर्ने रास्वपाको स्वाङमा मात्रै सीमित हुने खतरा पनि उत्तिकै छ । रास्वपाले दलको जिम्मेवारी हरेक दिन जनताको साथमा रहनु हो भन्ने बुझ्नु जरुरी छ । घरदैलो अभियान गरेर देखावटी काम गर्नुभन्दा जनताका मुद्दालाई सरकार र सदनमा प्रभावकारी ढंगबाट सम्बोधन गराउन सक्दा रास्वपालाई जनताले मनमै राख्नेछन् । घरदैलोमा गएर हामी नयाँ पार्टी, रविको पार्टी भनेर सुनाइरहनु पर्दैन ।

गत वर्ष निर्वाचनमा अप्रत्यासित नतीजा हासिल भएपछि रास्वपाका सभापति रवि लामिछानेका अभिव्यक्तिहरु अस्वभाविक देखिन्थे । सत्ताको जोड–घटाउको लाभ हासिल गर्दै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सभापति लामिछानेले अन्ततः नागरिकता विवादमा प्रतिनिधि सभा सदस्य पद नै त्याग्नु पर्यो । यद्यपि उपनिर्वाचनमा लामिछाने शानदार शैलीमा निर्वाचित भए । सत्तामा रहँदा र सत्ताभन्दा बाहिर रहँदा रास्वपाले दलको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई फेहरिस्त प्रस्तुत गर्न चुकेको रास्वपाले घरदैलोमा पुगेर जनताका गुनासा सुन्ने परम्परागत दलकै शैलीभन्दा फरक छैन । घरदैलो अभियानमा जनताका कुरा के रह्यो ? यसको स्पष्ट प्रतिवेदन सार्वजनिक गरेर जनताका कुराका आधारमा रास्वपाले भावी योजना बनाउनु पर्छ ।

रास्वपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने केही सांसद आफ्नो व्यक्तिगत विद्वता प्रस्तुत गर्न बढी उद्दत देखिन्छन् । पार्टीको औपचारिक धारणामा भन्दा एक्लो सांसद, नेता, कार्यकर्ता आफूलाई अब्बल सावित गर्न अग्रसर देखिन्छन् । मकवानपुरको सन्दर्भमा त रास्वपाले गम्भीर त्रुटी गरेको छ । जबर्जस्ती करणीको मुद्दामा पक्राउ परेका व्यक्तिलाई रिहा गर्न माग गर्दै रास्वपाका नेता, महिला नेतृ समेत जिल्ला प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाउन जाने जस्तो गम्भीर त्रुटी यसबीचमा भएको छ । जिल्लामा गम्भीर प्रकृतिका घटनामा रास्वपाले आफूलाई पुराना दलकै पंक्तिमा उभ्याएको छ ।

स्थानीय सरकार, प्रदेश सरकारको कामकारवाहीप्रति रास्वपाको प्रदेश, जिल्ला र पालिका समितिले कुनै चासो नै नराखेको जस्तो देखिन्छ । पालिकाका केही मुद्दामा प्रभावशाली ध्यानाकर्षण गराए पनि दलको नीतिगत भन्दा नेताको सक्रियता बढी हावी भएको देखिन्छ । पार्टीलाई एउटा गतिमा नियमित चलायमान बनाउनुपर्ने आवश्यकताप्रति रास्वपाले ध्यान पु¥याउनु जरुरी छ । दलको जिम्मेवार भूमिका रहने नीति तय गरी जनताले जिम्मेवार दल हो भनेर सहजै बुझ्न सक्ने गरी काम गर्नुपर्ने आवश्यकतालाई रास्वपाले बुझ्नु पर्छ । दीर्घकालिन लाभ हुने कामलाई बेवास्ता गर्दै क्षणिक लोकप्रियताका लागि अभियानलाई उपयोगी बनाउने भ्रम त्याग्नुपर्छ ।