मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८० को ३५औं दिन काभ्रेपलाञ्चोकको पनौतीमा एकजनाको उद्दार गरिँदै ।

हेटौंडाः हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमले सुरु गरेको राष्ट्रिय मेची–महाकाली अभियान सम्पन्न भएको छ । सोमबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृहमा एक कार्यक्रमका बीच ४० दिने राष्ट्रिय मेची–महाकाली अभियान सम्पन्न भएको मानवसेवा आश्रमका प्रदेश संयोजक होमनाथ पौडेलले जानकारी दिनुभयो ।

मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको ४० दिने अभियानमा ३ सय २ जना सडक मानिसको उद्दार भएको संयोजक पौडेलले बताउनुभयो । सडकबाट उद्दार भएकामा ९० जना महिला, २०१ जना पुरुष, ७ जना बालक र ४ जना बालिका रहेको रहेका छन् । उद्दारको क्रममा टोलीले हेटौंडाबाट २१ जना, रानिवनबाट ५८ जना, चितवनबाट १२ जना, ललितपुरबाट ५ जना, भक्तपुरबाट १ जना, हेम्जाबाट ३६ जना, छोरेपाटनबाट ३ जना, गोरखाबाट ३ जना, वागलुङबाट १ जना लमजुङबाट २ जना, तिलोत्तमाबाट ३१ जना, सुख्खानगरबाट १ जना, दाङबाट १४ जना, नेपालगंजबाट ८ जना, सर्लाहीबाट १३ जना, जनकपुरबाट २१ जना, वीरगन्जबाट १० जना, विराटनगरबाट ५१ जना, सुर्खेतबाट ३ जना र धनगढीबाट ८ जना सडक मानवको उद्दार भएको छ । उद्दार भएकामा २ जनाको परिवारिक पुनर्मिलान गरिएको संयोजक पौडेलले बताउनुभयो ।

नेपालमा बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक कर्णाली, प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा १ वटा गरी २१ ठाउँमा मानवसेवा आश्रम रहेको छ । वि.सं २०७७ सालदेखि नै उद्दार अभियान सुरु गरेको र अहिलेसम्म निरन्तरता दिँदै आइरहेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभएको छ । दशैँ तिहारलगायतको पर्वहरुमा कुनै पनि मानिसले सडकमा जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यका साथ देशव्यापीरुपमा अभियान चलाइएको उहाँको भनाइ छ । अभियानका क्रममा भेटिएका सडकमा जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरुको उद्दार गरिएको उहाँले जानकारी दिनुभयो । मेची–महाकाली अभियानले सडकमा बस्ने मानिसहरुको जीवन रक्षामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।