हेटौंडाः हेटौँडा–११, थानाभ¥याङस्थित बाल सुधारगृहमा रहेका बालकहरुसँग बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले साक्षात्कार गरेको छ । प्रदेश बालअधिकार समितिको अध्यक्ष समेत रहेकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, समितिका सदस्य प्रकाश खतिवडा, मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेल, मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी लगायतले सुधारगृहका बालकहरुको गुनासो सुन्ने र उनीहरुको इच्छा–चाहनाबारे बुझ्ने प्रयास गरेका छन् ।
सुधारगृहका प्रमुख प्रदीप गौतमले सुधारगृहको अवस्थाका बारेमा मन्त्रालयको टोलीलाई जानकारी गराउनुभएको थियो । सुधार गृहमा रहेका ६४ जना बालकहरुले मन्त्री मोक्तान सहितको टोलीलाई अध्ययन तथा सीप विकास तालिमको माग गरे । बाल सुधारगृहमा रहेका ६४ जनामध्ये १७ जना बालकले मात्रै ८ कक्षा उत्तीर्ण गरेका छन् । मन्त्री मोक्तानले सुधारगृहमा रहेका बालकहरुलाई पढाईको व्यवस्थापन पहिला गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्ययनका लागि मन्त्रालय छिट्टै व्यवस्थापन मिलाउने र सीप विकास तालिमका लागि अवसर प्रदान गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री मोक्तानले सुधारगृह भित्रै घर र विद्यालयको वातावरण निर्माण गर्ने विश्वास दिलाउनुएको छ । सुधारगृहबाट निस्कने बेलामा गलत कामलाई बिर्सिन र राम्रो कामलाई मात्रै अंगाल्न मन्त्री मोक्तानले आग्रह गर्नुभएको छ ।
प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडाले आधारभूत आवश्यकताको सम्बोधनमा मन्त्रालय र समिति गम्भीर रहेको बताउनुभयो । उहाँले सुधारगृहमा तत्काल शिक्षा र सीपविकास तालिमको आवश्यकता रहेको औँल्याउनुभयो । सुधारगृहका बालकहरुले सीप विकासतर्फ मोटरसाइकल र मोबाइल मर्मत गर्ने, इलेक्ट्रिकल र प्लम्बिङको तालिम सिक्न चाहेको बताएका छन् । सुधारगृहमा शौचालय र पानीको समस्या रहेको उनीहरुको गुनासो छ । राज्यले दिने सुविधा नै अपुग रहेको पाइएको छ । वर्षमा दुई पटक गर्मी महिनामा एक हजार दुई सय रुपैयाँ र जाडो मौसममा एक हजार पाँच सय रुपैयाँ गरेर कपडा किन्न राज्यले नगद सहयोग गर्ने गरेको भन्दै उक्त रकम पर्याप्त नभएको बालकहरुको गुनासो छ ।
सुधारगृहमा कम्प्युटर माग गरिएको छ । सुत्न र खान उचित व्यवस्थापन हुन नसकेको उनीहरुको भनाई छ । सानो कोठामा १३ जना र ठूलो कोठामा २५ जनासम्म बालबालिका सुताउने गरेको सुधारगृहका प्रमुख गौतमले जानकारी दिनुभयो । सुधारगृहमा मधेश प्रदेशका जिल्लाका आधाभन्दा बढी बालकहरु छन् । मकवानपुरका करिब १५ जना रहेको प्रमुख गौतमले बताउनुभयो । २ जना बालक क्षयरोगका बिरामी छन् । ६४ जना बालक मध्ये करिब ४५ जना जर्वजस्तीकरणी मुद्दाका आरोपितहरु रहेको गौतमले उल्लेख गर्नुहुँदै २४ जना पुर्पक्षका लागि थुनामा छन् भने बाँकीको हकमा अदालतबाट फैसला भएर सुधारगृहमा बस्दै आएको जानकारी दिनुभयो ।