विश्व वातावरण दिवसमा यसपटक औपचारिक कुनै कार्यक्रम भएनन् । न र्‍याली, न झाँकी । तर पनि वातावरण दिवस मनाउने दिन आयो र गयो । वातावरणलाई जोगाउनु पर्ने भन्दै गरिने विविध कार्यक्रमले स्वयम्लाई नोक्सान पुर्‍याएको हुन्थ्यो । यसपटक प्रकृतीले त्यस प्रकारको प्रदुषणको अनुभव गर्नु परेन । जोगाउन भन्दै त्यसको विपरित हुने क्रियाकपल मानिसका दैनिकी जस्तै बनेका छन् । तर कोरोना महामारीका कारण यस पटकको वातावरण दिवस कोलाहलमुक्त रुपमा सकिएको छ । वातावरण बिगार्ने वा सपार्ने भन्ने विषय मानिसका क्रियाकलापसँग सम्बन्धित हुने गर्दछ । भौतिक उन्नतिको होडबाजीका लागि मानिसले प्रकृती माथि अन्याय गर्दा वतावरण बिग्रँदै गएको यथार्थ हो ।

कोभिड–१९ को त्रासका कारण विश्वका सवै उद्योग कलकारखाना तथा सवारी साधन बन्द भएका छन् । प्रदुषित ग्यास उत्सर्जनमा कमि आएको छ । जसको प्रभाव वायुमण्डलमा परेको छ । त्यसैले विश्वका ठूला औद्योगिक क्षेत्रदेखि शहरहरुमा पनि स्वच्छ हावा वहन थालेको छ । यो अवस्था कोरोनाका कारणले मात्रै सम्भव भएको हो । वैज्ञानिकहरुले त कोरोना पनि वातावरण प्रदुषणकै कारण उत्पन्न भएको दावी गरेका छन् । सतहमा हुने अनेक भाइसरहरुले वातावरण अनुरुप आफ्नो रुप पनि परिवर्तन गर्ने क्रममा कोरोनाको उत्पन्न भएको बताएका छन् । वातावरणमा भएको अतिक्रमणले अनेक भाइरसहरुको उत्पत्ती हुने गर्दछ, जुन मावन जीवनलाई चुनौती बन्ने गरेका छन् ।

कोरोनाका कारण विश्वमा लाखौं नागरिकको ज्यान गएको छ भने त्यतिकै मात्रामा जोखिममा छन् । मानवीय क्षतिदेखि आर्थिक गतिविधिमा भएको रोकावटको मुख्य कारण कोभिड–१९ नै हो भने, यतिबेला देखिएको वातावरणीय शुद्धता पनि कोरोना कै कारण सम्भव भएको हो । कोरोनाले विनाशका अतिरिक्त वातावरणीय क्षेत्रमा सुधार पनि ल्याई दिएको मान्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको नेपाल पनि अस्तव्यस्त सडक र गाडीहरूको आवाज, धुँवा, धुलोले पीडित बन्दै आएको थियो । तर अहिले देशका सवै शहरहरु शान्त र सफा देखिएका छन् । स्वच्छ र सुनसान छन्, जुन अवस्थाका लागि मानिसले धेरै वर्षदेखि प्रयास गरिरहेको थियो । प्रदुषित वातावरणले उकुसमुकुस मानव जीवन यतिबेला लामो श्वास फेर्न सक्ने अवस्थामा पुगेको छ । कोरोनाले मानव जीवनमा क्षति पु¥याएको मात्र हैन कि स्वच्छ आकाश पनि दिएको छ ।

कोरोना भाइरसले विश्वभर आतंक श्रृजना गरेको र ठूलो क्षति पु¥याएको छ भने वातावरणलाई शुद्ध गराउने काम पनि गरेको छ । कोरोनाका कारण विश्वले नयाँ शिक्षा प्राप्त गरेको हुनु पर्दछ । प्रदूषणका कारण उत्पन्न अनेक रोगबाट बच्नका लागि धेरै प्रयास हुने गरेका छन् । तर वातावरण स्वच्छ राख्न सकेमा अरु प्रयासको आवश्यकता नै हुने छैन । मानिसले भौतिक सुख वा उन्नती गर्दा प्रकृति माथिको अतिक्रमण रोक्नु पर्दछ । मानव क्रियाकलाप नै जलवायु परिवर्तनको मुख्य कारण हो । जसले वातावरणमा असन्तुलन बढ्दै गएको छ । अब पनि सचेत नहुने हो भने दिवस मनाएर वा नारा लगाएर मात्र दुखान्त घटना सहनुको विकल्प छैन । मानिसका असीमित आवश्यकता पूर्तिका निम्ति जमिन, वनजंगलको विनास, जीवजनावरको क्षति, औद्योगिकीकरण, भौतिक संरचना जस्ता कारणले प्राकृतिक सन्तुलन भत्कँदै गएको छ । मानिस, जीव जनावर र वातावरणीय स्वास्थ्य बीचको सन्तुलन कायम गर्न सके मात्र महामारीबाट बच्न सकिन्छ ।