![pipleyouthclub](https://samriddhasamaj.com/wp-content/uploads/2020/06/pipleyouthclub-696x465.jpg)
हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबको पिप्ले फुटबल एकेडेमी सञ्चालनमा आएको ६ वर्ष पूरा भएर ७ वर्षमा प्रवेश गरेको छ । स्थानीयस्तरमा युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थानीय सुविन घिमिरेको अग्रसरतामा एकेडेमी सञ्चालनमा आएको हो । केही समययता एकेडेमीको नियमित प्रशिक्षण कार्यक्रम खेल मैदानको अभावमा प्रभावित छ । यो वर्षको वर्षापछि नियमित प्रशिक्षणको तयारी भइरहेको प्रशिक्षक घिमिरेले जानकारी दिनुभएको छ ।
हेटौंडा–५ स्थित क्याम्पाचौरको खेलमैदानमा कर्रा खोलाको बाढीले क्षति पुर्याएपछि नियमित प्रशिक्षण प्रभावित बनेको थियो । अहिले खेलमैदानको मर्मत तथा कर्राखोलामा बाँध बाँध्ने काम भइरहेको जानकारी दिनुहुँदै प्रशिक्षक सुविन घिमिरेले भन्नुभयो, ‘खेलमैदान मर्मत सकाएर यस वर्षको वर्षायाम सकिएर हिउँद लागेसँगै नियमित प्रशिक्षण सुरुवात गर्नेछौं ।’
पिप्ले युवा क्लबले सञ्चालन गरेको एकेडेमीमै सहभागी भएर सञ्जीव अर्याल, एन्जल महर्जनले अखिल नेपाल फुटबल संघ (एन्फा) को यु–१४ क्याम्पमा स्थान बनाउन सफल भएको थियो भने सुमन राई र सुजल श्रेष्ठले यु–१२ को टिममा राष्ट्रिय छनोटमा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । क्लबले स्थानीय युवालाई फुटबल खेलको कला र सीप विकासमा उल्लेखनीय योगदान पुर्याएको स्मरण गर्नुहुँदै केही समय प्रशिक्षण रोक्नुपर्दा दुख लागेको प्रशिक्षक घिमिरेले बताउनुभयो ।